पाथीभरा क्षेत्र शनिबारपनि तनाव, सुरक्षाकर्मी र आन्दोलनकारी गरी १८ जना घाइते, तीनको अवस्था ‘गम्भीर’
काठमाडौं, १३ माघ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध गरिरहेका आन्दोलनकारी र सुरक्षाकर्मीबीच शनिबार भएकाे झडपमा १८ जना घाइते भएका छन् ।
पाथीभरा आवतजावतका लागि सहजहुने केबलकार निर्माणकाे लागि गत मङ्गलबारदेखि काफ्लेपाटीभन्दा माथि रहेको बलुडाँडामा जमिन सम्याउने काम सुरु भएको थियाे । साेही निर्माणको विरोध गरिरहेका आन्दोलनकारी र सुरक्षाकर्मीबीच शनिबार साँझ झडप हुँदा १३ जना प्रहरी र पाँच आन्दोलनकारी घाइते भएको हाे ।
जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङका अनुसार झडपमा यामबहादुर लिम्बू, सगुन लावती, धर्मान पालुङ्वा र मङ्गल लावती घाइते भएका छन् । एक आन्दोलनकारीको भने परिचय खुलाइएको छैन । लिम्बू, सगुन र पालुङ्वा गरी तीनजना आन्दोलनकारीको अवस्था गम्भीर रहेको बताइएको छ । गम्भीर घाइते भएकालाई उपचारका लागि विराटनगर लगिएको छ ।
प्रहरीतर्फ भने प्रहरी निरीक्षक (इन्सपेक्टर)देखि जवानसम्म घाइते भएको जनाइएको छ ।आन्दोलनकारीले प्रहरीलाई ढुङ्गा र गुलेली हानेपछि स्थिति तनाबपूर्ण बनेको थियो । प्रहरीले आन्दोलनकारीबाट तीन खुकुरी, गुलेली र अन्य सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले १२ सेल अश्रुग्याससमेत प्रहार गरेको थियो । स्थिति नियन्त्रणबाहिर गएपछि गोली चलाउनु परेकाे प्रहरीले जनाएकाे छ । तीनजना आन्दोलनकारीलाई गोली लागेको बताइएको छ ।