वित्त उपसमूहको परिसूचक सर्वाधिक बढ्यो, घट्यो नेप्से

काठमाडाैं, १४ माघ । नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लाे दुई कारोबार दिनदेखि घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

सोमबार नेप्से परिसूचक १०.६६ अंक घटेर २६३३.२७ विन्दुमा पुगेकाे छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.०७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६१ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ९ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१२ स्टकको ८७ हजार ५६४ पटकको कारोबारमा ८ अर्ब ९२ करोड ४० लाख ६५ हजार रुपैयाँबराबरको १ करोड ७२ लाख ५३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आजको सेयर बजारमा १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। वित्त उपसमूहको परिसूचक सबैभन्दा धेरै ३.४६ प्रतिशतले बढेको छ। विकास बैंक, जलविद्युत, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचकमा पनि सामान्य वृद्धि देखिएको छ।

अर्कोतिर, कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक सबैभन्दा धेरै १.८३ प्रतिशतले घटेको छ। त्यसैगरी, अन्य र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।

आज न्यादी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस कम्पनीको शेयर मूल्य ५८ रुपैयाँ ५० पैसाले बढेर ६४३ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ। जानकी फाइनान्स, ग्रिन डेभलपमेन्ट बैंक र सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य पनि करिब १० प्रतिशतले बढेको छ। तर, सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य भने सबैभन्दा धेरै ८.४६ प्रतिशतले घटेको छ।

आज कारोबार रकमको आधारमा सिन्धु विकास बैंक पहिलो स्थानमा रहेको छ। यस बैंकको २९ करोड ८३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। सप्तकोशी डेभलपमेन्ट बैंकको करिब साढे २८ करोड र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब २७ करोड रुपैयाँको शेयर किनबेच भएको छ।