सेयर बजारमा कारोबार रकमसहित नेप्से २४ अंकले बढ्यो
काठमाडाैं, १५ माघ । मंगलबारको सेयर बजारमा सुधार देखिएको छ।
लगातार तीन दिनको गिरावटपछि नेप्से परिसूचक २४.५० अंकले बढेर २६५७.७७ विन्दुमा पुगेको हाे। त्यस्तै सेन्सेटिभ इण्डेक्स ३.१९ अंक, फ्लोट इण्डेक्स १.६५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१४ अंकले वृद्धि भएको छ।
कारोबार रकममा पनि वृद्धि भई ९ अर्ब ४० करोड २६ लाख रुपैयाँ बराबरको १ करोड ९६ लाख ८० हजार कित्ता सेयर किनबेच भएको छ। ६ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लागेको छ, जसमा उपकार लघुवित्त, सिक्लेस हाइड्रोपावर, थ्रिस्टार हाइड्रोपावर, जानकी फाइनान्स, न्यादी हाइड्रोपावर र सामुदायिक लघुवित्त रहेका छन्।
कारोबार रकमका आधारमा सप्तकोशी डेभलपमेन्ट बैंक अग्रस्थानमा रह्यो। बैंकको ३८ करोड २१ लाख रुपैयाँको सेयर कारोबार भयो। त्यसैगरी नेपाल पुनर्बीमा र एनआरएन इन्फ्रास्ट्रक्चरको करिब २९-२९ करोडको सेयर कारोबार भएको छ।
सबै १३ उपसमूहको परिसूचक सकारात्मक रह्यो। विकास बैंक समूहको परिसूचक सर्वाधिक ४.०७ प्रतिशतले बढ्यो भने वित्त, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।