उच्च अंकले बढ्यो नेप्से, कारोबार रकम ५ महिनायताकै उच्च
काठमाडौं, २० माघ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बढेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
आइतबार नेप्से परिसूचक ६९.८० अंक बढेर २७२७.५८ विन्दुमा पुगेको छ। यसदिन सेन्सेटिभ इण्डेक्स १३.६४ अंक, फ्लोट इण्डेक्स ४.९३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.५८ अंक बढेको छ।
नेप्सेसँगै कारोबार रकम पनि उच्च अंकले बढेको छ। गत मंगलबार ९ अर्ब ४० करोडको शेयर खरिदबिक्री भएकोमा यस दिन १२ अर्ब ९५ करोड ५७ लाख रुपैयाँ बराबरको २ करोड ४८ लाख ४८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यो कारोबार रकम पछिल्लो ५ महिनायताकै उच्च हो। यसअघि भदौ १८ गते साढे १३ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो।
यस दिन ९ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। तीमध्ये उन्नती सहकार्य लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, अभियान लघुवित्त, विजय लघुवित्त, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, ग्रामिण विकास लघुवित्त, एनएमबि माइक्रोफाइनान्स, समता लघुवित्त र न्यादी हाइड्रोपावर रहेका छन्। कारोबारमा आएको सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट पहिलो स्थानमा रहेको छ। सो कम्पनीको ४१ करोड ९७ लाख २ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको ३५ करोडभन्दा बढी र सिन्धु विकास बैंकको साढे ३० करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ४.९२ प्रतिशतले बढेको छ। विकास बैंक, लगानी, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।