कञ्चनपुरको पुरैनी तालमा चराको सङ्ख्या घट्दो

कञ्चनपुर,२१ माघ । कञ्चनपुरको बेलौरी नगरपालिका– ६ भुराकोटस्थित पुरैनी ताल चरा अवलोकनका लागि परिचित गन्तव्य हो। तर, पछिल्लो समय तालमा चराको सङ्ख्या घट्दै गएको छ।

ताल क्षेत्रमा आहाराको कमी र बढ्दो अतिक्रमणका कारण चराको सङ्ख्या घट्न थालेको स्थानीय दिनेश चौधरीले बताए।

विगतमा तालमा एकनासको पानी हुँदा चराको सङ्ख्या धेरै हुने गरेको थियो। अहिले ताल क्षेत्रमा आहारा खोज्दै, उड्दै र जलविहार गर्दै गरेका चराहरू अवलोकन गर्न पाइन्छन्। विद्यार्थी, संरक्षण समूहमा आबद्ध युवा र चराप्रति चासो राख्ने पर्यटकहरु तालमा पुग्ने गरेका छन्।

पुरैनी तालमा ५५ प्रजातिका जलपंक्षी पाइन्छन्। नेपाल पंक्षी संरक्षण सङ्घ (विसिएन)का चरा विज्ञ हिरुलाल डगौराका अनुसार, यो ताल शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाहिर धेरै प्रजातिका चरा पाइने एक मात्र ताल हो। यहाँ सिलसिले हाँस, नकटा, कुर्मा, लामऔंँले, जलअप्सरा, बगाले सीम कुखुरा, सानो जलेवा, सारस, घुँघिडीफोर गरुड, भुडिफोर गरुड र विभिन्न प्रजातिका बकुल्ला पाइन्छन्। यसका साथै, कैले हाँस, विजला गैरी हाँस, हरियो टाउके हाँस, सुनगजुरे हाँस, खडखडे हाँस, सुइरे पुच्छे, कल हाँस र मालक हाँस पनि यहाँ देख्न सकिन्छ।

तालमा रैथाने र आगन्तुक दुवै प्रकारका चरा पाइन्छन्। रैथाने प्रजाति बाह्रै महिना ताल क्षेत्रमा देखिन्छन् भने आगन्तुक चरा हिउँदमा मात्र आउँछन्। गर्मी सुरु हुनु अघि आगन्तुक चरा साइबेरिया लगायतका क्षेत्रमा फर्कन्छन्।

सन् २०१७ मा गरिएको सर्वेक्षणमा तालमा २२ सय जलपक्षी फेला परेका थिए। तर, सन् २०२५ मा गरिएको सर्वेक्षणमा चराको सङ्ख्या घटेर ७०५ मा पुगेको छ। चरा विज्ञ डगौराका अनुसार, ताल वरिपरिको सीमसार क्षेत्र मासिँदै जानु, विषादी प्रयोग गरी अवैध रुपमा चरा मार्नु र आहाराको कमीका कारण पछिल्लो समय चराको सङ्ख्या घट्दै गएको छ।

स्थानीय तहले ताल संरक्षण गर्नुपर्नेमा चरा विज्ञ डगौराले जोड दिएका छन्। तालको संरक्षणका लागि केही वर्षदेखि आन्तरिक पर्यटकहरू ताल क्षेत्रमा आउन थालेका छन्। नगरपालिका– ६ का वडाध्यक्ष भोजराज चौधरीले ताल संरक्षणका लागि प्रयास जारी रहेको बताएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *