स्थानीय उत्पादनलाई बजारीकरण तथा प्रवर्द्धन गर्दै ‘रामपुर नगरपालिका’

पाल्पा, २१ माघ । रामपुर नगरपालिकाले आत्मनिर्भर बनाउनका लागि ज्ञान, सीप सिकाउने मात्र नभई उत्पादित सामग्रीलाई पनि बजारीकरण तथा प्रवर्द्धनमा सघाइरहेको छ ।

नगरभित्रका महिला उद्यमीले उत्पादन गरेका वस्तुलाई रामपुर मेलामा नगरपालिकाले बिक्री–वितरण तथा प्रवद्र्घन कार्य गरिरहेको हाे ।

नगरपालिकाले बिक्रीकक्ष तयार पारेर मेलामा स्थानीय उत्पादनका विभिन्न सामग्रीलाई राख्ने व्यवस्था मिलाएको छ । रामपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा भइरहेको चौथो रामपुर महोत्सव तथा व्यापार मेलाका अवसरमा बिक्री कक्षमा राखिएका स्थानीय सामग्री अवलोकनकर्ताको आकर्षण बनिरहेको छ ।

मेला अवलोकन गर्न आउनेले स्थानीय उत्पादन भएकाले आकर्षक मान्दै जानकारी लिने र सामान खरिद गर्ने गरेको नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख पुजा परियारले बताउनुभयो ।

बिक्रीकक्षमा कफी, साबुन (नुहाउने, लुगाधुने, भाँडा सफा गर्ने), आलुचिप्स, रोटी, दुनाटपरी, फिनेल, ह्यान्डवास, पिताम्बरी, मकैको खोस्टा र थाकलको पातबाट तयार पारिएका टोपी, झोलालगायत स्थानीय सामग्री प्रदर्शनी कक्षमा राखिएको नगरपालिकाका कर्मचारी सञ्जु परियारले बताउनुभयो । उहाँका अनुसार मकैको खोस्टा र थाकलको पातबाट बनेका सामान नौलो भएकाले मेलामा आउने दर्शक तथा अतिथि, कलाकारले अवलोकन गर्ने, बुझ्ने गरेका छन् । न्यूनतम रु ५० देखि बढीमा रु एक हजार ५०० सम्म मूल्य पर्ने सामग्री प्रदर्शनीकक्षमा छन् ।

स्थानीय तहमा जनप्रतिनिधिको नेतृत्व आइसकेपछि नगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम आयोजना गरी उद्यमी उत्पादन गरेको छ । नगरपालिकाको सहयोगमा ज्ञान सीप सिकेर विभिन्न व्यवसाय तथा उद्योग सञ्चालन गरिरहेका छन् । महिलालाई सीप सिकाएर उद्यमीका रुपमा विकास गरिनुपर्छ भन्ने हिसाबले विभिन्न तालिम तथा कार्यक्रममा जोड दिने गरेको नगर उपप्रमुख बालकुमारी थापा बताउनुहुन्छ । स्थानीय उत्पादनलाई बजारीकरणका लागि नगरपालिकाले उपप्रमुख कोसेली घर सञ्चालनमा ल्याएको उपप्रमुख थापा बताउनुहुन्छ ।