फेवाताल किनारमा मौलिक देउसीभैलो उत्सव आयोजना हुँदै

मौलिक संस्कृति र परम्परागत

काठमाडौँ, कार्तिक २१ । नेपाली मौलिक संस्कृति र परम्परागत देउसीभैलोको संरक्षण गर्दै पोखराको सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फेवाताल किनारमा मौलिक देउसीभैलो उत्सव आयोजना हुने भएको छ ।

पोखरा पर्यटन परिषद्, पोखरा महानगरपालिका पर्यटन प्रवर्द्धन शाखा र पब्लिक फोरके टेलिभिजनको संयुक्त आयोजनामा आगामी कात्तिक २३ गते लेकसाइडस्थित गौरीघाटमा उत्सव हुन लागेको हो । शनिबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले उत्सवको तयारीबारे जानकारी दिएको हो ।

कात्तिक २३ गते गौरीघाटमा १० समूहको प्रस्तुति, उत्कृष्ट समूहलाई २५ हजार पुरस्कार

उत्सवमा विभिन्न जातजातिका १० समूहले आआफ्नो मौलिक वेशभूषा, परम्परागत भाका र शैलीमा देउसीभैलो प्रस्तुत गर्ने पब्लिक फोरके टेलिभिजनका प्रबन्ध निर्देशक मन क्षेत्रीले जानकारी दिनुभयो । सहभागी समूहको मौलिकता, परम्परागत शब्द, लय, ताल, वेशभूषा र सांस्कृतिक प्रस्तुतिका आधारमा प्रतियोगिता सञ्चालन गरिनेछ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले देउसीभैलो नेपाली समाजको सांस्कृतिक पहिचानसँग जोडिएको परम्परा भएकाले यसको संरक्षण र पुस्तान्तरण आवश्यक रहेको बताउनुभयो । आधुनिकताको प्रभावले देउसीभैलोको मौलिक स्वरूप परिवर्तन हुँदै गएकाले पुराना भाका, शब्द र परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउन यस्ता उत्सव उपयोगी हुने उहाँको भनाइ छ ।

उहाँले उत्सवले संस्कृति संरक्षणसँगै पोखरा आउने विदेशी पर्यटकलाई नेपाली तिहार र सांस्कृतिक परम्पराबारे प्रत्यक्ष जानकारी गराउने विश्वास व्यक्त गर्नुभयो ।

पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले संस्कृति संरक्षणलाई पर्यटन प्रवर्द्धनसँग जोडेर अघि बढाउनुपर्ने बताउनुभयो । स्वदेशी तथा विदेशी पर्यटकलाई नेपाली चाडपर्व, संस्कार र परम्पराको प्रत्यक्ष अनुभव गराउन सांस्कृतिक उत्सव प्रभावकारी माध्यम बन्न सक्ने उहाँको भनाइ छ ।

उत्सवस्थलमा सयपत्री फूल र सेलरोटीका प्रदर्शनी कक्षसमेत राखिने आयोजकले जनाएको छ । यसबाट तिहारको सांस्कृतिक, खानपान तथा स्थानीय उत्पादनसँग जोडिएको परम्परालाई पर्यटकमाझ चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

पोखरा पर्यटन परिषद्का महासचिव मिलन तिवारीले पर्यटन प्राकृतिक दृश्यावलोकनमा मात्र सीमित नभई स्थानीय संस्कृति, परम्परा, खानपान र जीवनशैलीको अनुभवसमेत भएकाले देउसीभैलोजस्ता कार्यक्रमले पोखराको पर्यटनलाई थप आकर्षक बनाउने बताउनुभयो ।

प्रतियोगितामा सहभागी प्रत्येक समूहलाई पाँच हजार ५५५ रुपैयाँ र प्रमाणपत्र प्रदान गरिनेछ । उत्कृष्ट प्रस्तुति गर्ने समूहलाई २५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्रसहित ‘देउसीभैलो च्याम्पियन’ घोषणा गरिने आयोजकले जनाएको छ ।

लेकसाइडस्थित फेवाताल किनारमा आयोजना हुने उत्सवले पर्यटकलाई नेपाली मौलिक संस्कृति नजिकबाट अनुभव गर्ने अवसर प्रदान गर्नुका साथै पोखराको पर्यटनलाई प्राकृतिक सौन्दर्यसँगै सांस्कृतिक पहिचानका आधारमा समेत प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *