अधिराजकुमारी सोफियाद्वारा भक्तपुर अस्पतालको प्रसूति सेवाबारे चासो
काठमाडाैं, २३ माघ । बेलायती राजकुमारी सोफियाले भक्तपुर अस्पतालको प्रसूति सेवामा चासो देखाउनुभएका छन् ।
नेपाल भ्रमणमा रहेकी बेलायती राजकुमारी सोफियाले आज भक्तपुर अस्पतालको अवलोकन गर्नु भएकाे हाे । अस्पतालको प्रसूति वार्डको भ्रमणका क्रममा उहाँले त्यहाँको सेवा सुविधाबारे जानकारी लिनुभएकाे थियाे ।
उहाँले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे सोधपुछ गर्नुभएकाे छ । साथै, अस्पतालले प्रदान गरेको सेवाको प्रशंसा गर्दै खुशी व्यक्त गर्नुभयाे । राजकुमारी सोफियाले यौन हिंसामा परेका महिलाको व्यवस्थापन र पुनःस्थापनाबारे पनि चासो राख्नुभएकाे छ ।
बिना पारिश्रमिक काम गर्ने महिला स्वयंसेविकाको योगदानको उच्च मूल्यांकन गर्दै राजकुमारी सोफियाले मातृ तथा शिशु स्वास्थ्यमा अस्पतालले पुर्याएको योगदानको प्रशंसा गर्नुभयाे । उहाँले प्रसूति सेवामा प्रयोग भएका आधुनिक प्रविधि र बेलायत सरकारको सहयोगमा बनेको नयाँ भवनको बारेमा जिज्ञासा राख्नुभएकाे थियाे ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेशका सबै अस्पतालमा प्रसूति सेवालाई सुदृढ बनाउने काम भइरहेको बताउनुभयाे। स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले भक्तपुर अस्पताललाई नमूना अस्पताल बनाउन मन्त्रालयले योजना बनाएको जानकारी दिनुभयाे ।