झापामा युवतीसँग होटलमा बास बसेका युवकको मृत्यु, दुई पक्राउ
काठमाडौं, २५ माघ । झापाको बिर्तामोडस्थित एक होटलमा युवक मृत अवस्थामा फेला परेका छन् । हल्दिबारी गाउँपालिका–१ गोलधापका ३० वर्षीय सागर बेस्रा बिर्तामोडको एभरेष्ट होटल एण्ड लजमा मृत भेटिएका हुन् ।
प्रहरीले घटनामा संलग्न रहेको आशंकामा युवकसँगै बसेकी सुनसरीको धरान उपमहानगरपालिका–१५ की २३ वर्षीया मुना विक र होटल सञ्चालक बिर्तामोड–५ की ४८ वर्षीया यामकुमारी उप्रेतीलाई पक्राउ गरेको छ ।
गए राति खाना खाएर सँगै सुतेका बेस्रा राति कोठाभित्र बाथरुमको ढोकाको छेउमा लडेर बेहोस भएको युवती मुना विकले प्रहरीलाई जानकारी दिएकी छन् । त्यसपछि युवती र होटल सञ्चालकले उनलाई उपचारका लागि अस्पताल पुर्याएका थिए । चिकित्सकले बेस्रालाई मृत घोषणा गरेका थिए ।
प्रहरीले युवती र होटल सञ्चालकको बयानमा शङ्का लागेकाले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।