प्रतिनिधिसभामा विधेयक र प्रतिवेदन पेश हुँदै

काठमाडौं, २५ माघ । प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न विधेयक र प्रतिवेदनहरू पेश हुने भएका छन् ।

बैठकमा विद्युतीय व्यापार विधेयकदेखि अन्तर्राष्ट्रिय श्रम मापदण्डसम्मका विषयहरू छलफलमा आउने कार्यसूची रहेको छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिका सभापति अब्दुल खानले विद्युतीय व्यापार विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्ने कार्यक्रम रहेको छ ।

यस्तै, कानुनमन्त्री अजयकुमार चौरसियाले कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको विधायन विधेयक, २०८० माथि छलफल गर्न प्रस्ताव गर्नुका साथै विधायन विधेयक, २०८१ पारित गर्न प्रस्ताव पेश गर्ने छन् ।

त्यसैगरी, श्रममन्त्री शरत्सिंह भण्डारीले अन्तर्राष्ट्रिय श्रम संगठनको सम्मेलनले स्वीकृत गरेका नयाँ अन्तर्राष्ट्रिय श्रम मापदण्डको संयन्त्रसम्बन्धी प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।