कैलालीमा विपन्न समुदायका लागि सुरक्षित आवास निर्माण

कैलाली, माघ २९ । घोडाघोडी नगरपालिकामा विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गरी सीमान्तकृत समुदायलाई हस्तान्तरण गरिएको छ।

घोडाघोडीको वडा नं. ४ सिम्थरीमा ६ र वडा नं. ९ गोदनीमा ६ वटा आवास निर्माण गरिएका हुन् ।
नगरप्रमुख खडकबहादुर रावतले नव निर्मित घर ती समुदायलाई सोमबार हस्तान्तरण गर्दै पालिकाभित्रका सबै वडामा सीमान्तकृत वर्गका लागि सुरक्षित आवास बनाउने योजना रहेको जानकारी दिनुभयो ।

ह्याबिट्याट फर ह्युमिनिटी, राष्ट्रिय दलित नेटवर्क र घोडाघोडी नगरपालिकाको लागत साझेदारीमा उक्त घर निर्माण गरिएका हुन्। सुरक्षित आवासमा दुईवटा पक्की कोठा र एक शौचालय रहेको छ। घोडाघोडी नगरपालिकाको रू. ४२ लाख, ह्याबिट्याट फर ह्युमिनिटी, राष्ट्रिय दलित नेटवर्क नेपालको रू. २४ लाख र जनश्रमदान रू. नौ लाख पाँच हजार पाँच सय दुई गरी लागत साझेदारीमा सुरक्षित आवास निर्माण गरिएको हो।

वडाहरूको सिफारिसमा आवासविहीन सीमान्तकृत वर्गलाई लागत साझेदारीमा घोडाघोडीले सुरक्षित आवास निर्माण गरिदिएको हो। यसअघि पालिकाले वडा नं. ३ सृष्टिनगर मुक्त कमैया बस्तीका नागरिकलाई १२ सुरक्षित आवास हस्तान्तरण गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *