पशुपतिनाथमा बाबाहरूकाे आफ्नै सुर (तस्बिरहरू)
काठमाडौँ, १४ फागुन । महाशिवरात्रीका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।
महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका आज बिहान दुई बजेदेखि नै खुला गरिएको थियो । दुई बजेदेखि नै पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । पशुपति क्षेत्रको बाहिरी भागबाट चार र भित्री भागमा आठवटा लामको व्यवस्था गरिएको छ ।
अहिले भक्तजनको लाम धेरै लामो भएको छ । व्यवस्थित रूपमा भक्तजनले लाममा बसेर दर्शन गर्न सक्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
महाशिवरात्रिका अवसरमा आज पशुपतिनाथ मन्दिरमा वरपर बाबाहरूकाे आफ्नै सुर छन् ।
महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा आउने साधुसन्तलाई गत सोमबारदेखि नै गुठी संस्थान, कोषलगायत सरकारी एवं गैरसरकारी सङ्घसंस्थाले खाने–बस्ने व्यवस्था गरेका छन् ।
महाशिवरात्रिका दिन धेरै भीड हुने भएकाले कति भक्तजन भने लाइन नबसी पशुपति क्षेत्र पुगेर गजुर दर्शन गरेर फर्कने गरेका छन् । गजुर दर्शन गर्दा पनि पशुपतिनाथ मन्दिरमै गएर दर्शन गरेको फल मिल्ने शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।
यस वर्षको महाशिवरात्रिमा मन्दिर परिसर साजसजावटमा विशेष ध्यान दिइएको छ । पशुपति क्षेत्र वरपर झिलीमिली बनाइएको छ । मङ्गलबार बेलुकीदेखि पशुपति क्षेत्र जाँदा आकर्षक हुनेगरी फूल र बत्तीले सजाइएको छ । नेपाललगायत विदेशबाट समेत फूलमाला ल्याएर मन्दिर सजावट गरिएको छ ।
सबै तस्बिरहरू विनाेद श्रेष्ठ मैत्री न्युज ।