सगरमाथा संवादको तयारी तीव्र, जलवायु परिवर्तनका मुद्दामा विश्वको ध्यानाकर्षण गराइने
काठमाडौं, १९ फागुन । जलवायु परिवर्तनका कारण पर्वतीय र तटीय क्षेत्रले भोग्नुपरेका समस्यालाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने उद्देश्यले ‘सगरमाथा संवाद’ को तयारी तीव्र पारिएको छ। आगामी जेठ २ देखि ४ गतेसम्म ‘जलवायु परिवर्तन, पर्वतीय र मानव जीवनको भविष्य’ शीर्षकमा यो संवाद आयोजना हुँदैछ।
संवादको तयारीका लागि गठित व्यवस्थापन समितिको पहिलो बैठकले पर्वतीय र तटीय क्षेत्रका राष्ट्र प्रमुख, सरकार प्रमुख, जलवायु विज्ञ, निजी क्षेत्रका प्रतिनिधि र विषय विज्ञहरूलाई आमन्त्रण गर्ने निर्णय गरेको छ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको संयोजकत्वमा रहेको समितिले संवादका लागि आवश्यक पूर्वाधार व्यवस्थापन र कार्यक्रमको प्रारुप तयार पारेको छ। वन मन्त्रालयका सहसचिव महेश्वर ढकालका अनुसार, विज्ञ समूह गठन गर्ने र परराष्ट्र मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रचारप्रसार समिति पनि गठन गरिनेछ।
बैठकले जलवायु परिवर्तनका प्रभाव कम गर्न भएका राम्रा अभ्यासहरूको प्रदर्शनका लागि साझेदार संस्थाहरूलाई आग्रह गर्ने निर्णय गरेको छ। सहसचिव ढकालले प्रदेशस्तरमा पनि संवाद गर्ने, बालबालिका र युवाका विषयमा पूर्वतयारी संवाद गर्ने, र संवादका लागि आवश्यक कर्मचारी परराष्ट्र, वन मन्त्रालय र मन्त्रिपरिषद्को कार्यालयबाट खटाइने जानकारी दिए।
यसअघि माघ २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा भएको तयारी बैठकमा छिमेकी मुलुक भारत, चीन र दक्षिण एसियाली मुलुकका राष्ट्रप्रमुख वा सरकार प्रमुखलाई आमन्त्रण गर्ने विषयमा छलफल भएको थियो।
वन तथा वातावरण मन्त्रालयका सचिव दीपककुमार खरालले जलवायु न्यायका लागि पैरवी गर्न र जलवायु परिवर्तनका विषयमा विश्वलाई नेतृत्व दिन संवाद कार्यक्रम आयोजना गरिएको बताए। यो संवाद प्रत्येक दुई वर्षमा आयोजना गरिने सरकारको निर्णय छ।
परराष्ट्र मन्त्रालयका सहसचिव दधिराम भण्डारीले जलवायु परिवर्तनले पर्वतीय क्षेत्रमा पारेको असरबारे उजागर गर्नु संवादको मुख्य उद्देश्य रहेको बताए।