पर्वतको बिहादीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, सात घाइते

काठमाडाैं, फागुन २१ । पर्वत जिल्लाको बिहादी गाउँपालिकामा आज बिहान भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

गुल्मीको कालीगण्डकी गाउँपालिकास्थित पूर्तिघाटबाट स्याङ्जाको वालिङतर्फ जाँदै गरेको लु १ ज ४४६० नम्बरको बोलेरो जीप बिहादी–६, लिदीमा दुर्घटना भएको हो।

दुर्घटनामा बिहादी–३, रानीपानीका ६१ वर्षीय मीनप्रसाद उपाध्याय र गुल्मीको कालीगण्डकी गाउँपालिका–४, पूर्तिघाटकी ६४ वर्षीया डिलकुमारी भट्टचनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन विष्टले जानकारी दिएका छन्।

दुर्घटनामा घाइते भएकामध्ये छ जनालाई उपचारका लागि पाल्पा पठाइएको छ भने एक जना सामान्य घाइते बालकको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार उकालो सडकमा ब्रेक फेल भएर जीप दुर्घटना भएको हो। घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक विष्टले बताए।