खुम्बु क्षेत्रमा जलवायु परिवर्तनको असरले खाद्य असुरक्षा बढ्दै, महिलाहरू पोषणको जोखिममा

सोलुखुम्बु, २४ फागुन । सगरमाथा क्षेत्रमा जलवायु परिवर्तनको असरले खाद्य सुरक्षा र महिलाको पोषणमा गम्भीर चुनौती थपिएको छ । परम्परागत रूपमा यहाँ उत्पादन हुने गहुँ, जौ, र फापर जस्ता अन्नबालीको उत्पादन घट्दै गएको छ। मौसमको अनियमितता, बढ्दो तापक्रम, बेमौसमी वर्षा र खडेरीका कारण खेतीपाती प्रभावित बनेको स्थानीय कृषकहरू बताउँछन् ।

स्थानीय महिला पासाङ ल्हामु शेर्पाका अनुसार पहिला उवा र फापर प्रशस्त फल्ने जग्गाहरू अहिले बाँझै छन्। “पानीको अभाव, माटोको उर्बराशक्तिमा कमी र चरम मौसमी परिवर्तनले बाली लगाउनै गाह्रो भएको छ। लगाए पनि पहिलाजस्तो उत्पादन हुँदैन। त्यसैले धेरैले खेती गर्न छोडेका छन्,” उनले भनिन्।

जलवायु परिवर्तनको प्रत्यक्ष असरले यहाँका महिला र बालबालिकाहरू कुपोषणको शिकार भइरहेका छन्। कृषि उत्पादनमा आएको गिरावटले खुम्बु क्षेत्रका नागरिकहरू प्रभावित भएका छन्, जसमध्ये महिलाहरूको स्वास्थ्यमा गम्भीर असर परेको छ। पोषणको कमीले गर्भवती महिलाहरू कमजोर हुने र नवजात शिशुहरूमा पनि स्वास्थ्य समस्या देखिने सम्भावना बढेको स्वास्थ्यकर्मीहरू बताउँछन्।

स्थानीय स्वास्थ्यकर्मी ङिमडोमा शेर्पाका अनुसार स्थानीय उत्पादन घट्दै जानु, पुरानो खेती प्रणाली असफल हुनु र आयातित खाद्य सामग्रीमा निर्भरता बढ्नुले महिलाहरू थप समस्यामा परेका छन्।

हिउँ पग्लने क्रम तीव्र

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को प्रतिवेदनले हिमाली क्षेत्रमा हिउँ पग्लने क्रम तीव्र गतिमा बढेको जनाएको छ। तापक्रम वृद्धिको दर अन्य क्षेत्रको तुलनामा यहाँ बढी छ।

खुम्बुका तेन्जिङ जाङ्बु शेर्पाले बताए अनुसार पहिले फापरको राम्रो उत्पादन हुने जग्गाहरू अहिले बाँझो छन्। “जलवायु परिवर्तनले असर गर्‍यो भन्छन्, तर यसले हामीलाई धेरै समस्या पारेको छ,” उनले भने।

फोहरको थुप्रोले थप समस्या

सगरमाथा आरोहणमा आउनेहरूले आधार शिविरमा छोडेका प्लास्टिक र अन्य फोहरले हिमनदीहरूमा सूर्यको प्रकाशको प्रभाव बढाएको छ। पर्यटन व्यवसाय फस्टाएसँगै यहाँको वातावरणमा प्रतिकूल असर परेको छ। पर्यटन व्यवसायी पासाङ शेर्पा भन्छन्, “सरकारले कडाइ गरे पनि आरोहीहरूले केही मात्रामा भए पनि सामग्री छोडेर फर्किन्छन्, जसले वातावरणीय असन्तुलन निम्त्याउँछ।” लुक्लाका स्थानीय बासिन्दा तोयाकुमार श्रेष्ठका अनुसार हिमालहरू काला पहाडमा परिणत भइरहेका छन्।

स्थानीय अमृत मगरका अनुसार जलवायु परिवर्तनले गर्दा समयमा हिमपात नहुँदा जमिन सुक्खा हुँदै गएका छन् भने गर्मीमा जाडो र जाडोमा गर्मी महसुस हुने गरेको छ।

वातावरणविद् डा. राजन थापाले शक्ति राष्ट्रहरूले चलाएका उद्योग र विश्वव्यापी तापक्रम वृद्धिले नेपालको हिमाली क्षेत्रमा प्रत्यक्ष प्रभाव पारेको बताए। फाउण्डेसनका अध्यक्ष प्रजिता कार्कीले जलवायु परिवर्तनका असरहरू रोक्न सामूहिक प्रयासको खाँचो औंल्याइन्। “हिमाली भेगका महिलाहरूलाई लक्षित गर्दै विशेष स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्नुपर्छ,” उनले भनिन्।

कृषि विज्ञ चन्द्रमान श्रेष्ठले साना किसानहरूलाई जलवायु अनुकूल खेती प्रणाली सिकाउने, सिँचाइका लागि वैकल्पिक उपायहरू खोज्ने तथा जैविक कृषिलाई प्रवर्द्धन गर्ने नीति आवश्यक रहेको बताए। “खेती भएन भनेर बारी बाँझो छोड्नु चिन्ताको विषय हो, अन्य विधिहरू अपनाउन सकिन्छ,” उनले भने।

स्थानीय बासिन्दाहरूले टनेल खेती, जैविक मलको प्रयोग र पारम्परिक ज्ञानमा आधारित कृषि प्रविधिहरू अपनाइरहेका छन्। यद्यपि, विज्ञहरूले यी उपायहरू दीर्घकालीन रूपमा पर्याप्त नहुने र थप सरकारी तथा गैरसरकारी सहयोग आवश्यक पर्ने बताएका छन्। उनीहरूले स्थानीय र अन्तर्राष्ट्रिय निकायहरू एकजुट भएर समाधानका उपाय खोज्न आवश्यक रहेकोमा जोड दिएका छन्।