दुर्गा प्रसाईंविरुद्ध पर्सामा मुद्दा दर्ता: साइबर र राज्यविरुद्धको कसुरमा कारबाही अघि बढ्दै
वीरगन्ज, ११ जेठ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत पर्सामा दुईवटा गम्भीर मुद्दा दर्ता गरिएको छ। प्रहरीले अनुसन्धान पूरा गरेपछि सरकारी वकिलको कार्यालयमार्फत प्रसाईंविरुद्ध साइबर अपराध र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गरेको हो।
सोमबार मुद्दा दर्ता भएलगत्तै उनलाई बयानका लागि अदालत उपस्थित गराइएको थियो। तर, समय अभावका कारण बयान नसकिएकाले भोलि (मंगलबार) पुनः उपस्थित गराउने गरी उनलाई न्यायिक हिरासतमा पठाइएको पर्सा प्रहरीले जनाएको छ।
प्रसाईंलाई गत जेठ ४ गते वीरगन्जस्थित होटल दियालोबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीमाथि सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका अभिव्यक्ति दिएको तथा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धमा खलल पार्ने गरी घृणा वा द्वेष फैलाएको आरोप छ।
विशेष गरी सार्वजनिक कार्यक्रम र सामाजिक सञ्जालमा दिएका विवादास्पद अभिव्यक्तिहरूलाई लिएर उनीमाथि साइबर कानुन र मुलुकी अपराध संहिताको राज्यविरुद्धको कसुर अन्तर्गत छानबिन भइरहेको हो।
प्रसाईं अहिले प्रहरीको नियन्त्रणमै छन्। भोलि बयान सकिएपछि थुनछेक बहस सुरु हुने र त्यसपछि उनलाई थुनामै राखेर मुद्दा चलाउने वा धरौटीमा रिहा गर्ने भन्नेबारे अदालतले निर्णय लिनेछ।