मोरक्कन खेलाडी जौआनी धनगढी एफसीबाट खेल्ने

काठमाडौँ, २४ फागुन । धनगढी एफसीले नेपाल सुपर लिगका लागि मोरक्कन खेलाडी मोहम्मद एल जौआनी लाई टोलीमा भित्र्याएको छ । मोरक्को यु–२३ अन्तर्राष्ट्रिय टोलीका पूर्व खेलाडी जौआनी उत्कृष्ट अनुभव, प्राविधिक कौशल र खेल नियन्त्रण गर्ने अद्भुत क्षमता भएका मिडफिल्डर हुन् ।

उनको आगमनले धनगढी एफसीलाई थप मजबुत बनाउने विश्वास गरिनुका साथै उत्कृष्ट खेल कौशल र दूर दृष्टि भएका जौआनीले नेपाल सुपर लिगमा ठुलो प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

यसअघि नै धनगढी एफसीले नाइजेरीयन फरवार्ड आफिज ओलावालेलाई पुनः टोलीमा अनुबन्ध गरिसकेको छ । लेबनानी फरवार्ड अहमद हजाजीलाई पनि टोलीमा अनुबन्ध गरिसकेको छ । यसबाहेक, देवेन्द्र तामाङ, जेजस काकी, पासाङ लामा, विवेक पौडेल, विजयारथ शेख, रुद्र फुयाँल, रामचन्द्र वादी, शांतिलाल र अशोक खवासजस्ता खेलाडी टोलीमा रहेका छन् ।

यस सिजनका लागि धनगढी एफसीले स्पेनका जुआन म्यानुएल मार्टिनेज सायेजलाई मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरेको छ । युइएफए प्रो लाइसेन्स प्राप्त मार्टिनेजले स्पेन, पानामा, थाइल्यान्ड, ओमान, मालदिभ्स र बङ्गलादेशका क्लबलाई प्रशिक्षण गराइसकेका छन् । नेपाली क्रिकेट टोलिका स्टार अलराउण्डर दिपेन्द्र सिंह ऐरी धनगडी एएफसीका ब्राण्ड एम्बासडर हुन् ।

धनगढी एफसीले चैत १६ गते सुरु हुन गइरहेको एनएसएलको तेस्रो संस्करणका लागि बलियो तयारी गरिरहेको छ । विदेशी तथा अनुभवी खेलाडीको आगमनले क्लबलाई उपाधि दाबेदार बनाउने अपेक्षा गरिएको छ ।