चौथो संस्करणको एनपिएल गौतमबुद्ध रङ्गशालामा खेलाउने लक्ष्यसहित निर्माणलाई तीव्रता दिइने

गौतमबुद्ध रङ्गशाला

काठमाडौँ, मंसिर १२ । चितवनस्थित गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित बाँकी निर्माण कार्यलाई तीव्रता दिइने भएको छ । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले आज रङ्गशालाको स्थलगत निरीक्षण गर्दै बाँकी निर्माण कार्य शीघ्र सम्पन्न गर्न र आवश्यक पूर्वाधार थप गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

निरीक्षणका क्रममा उहाँले रङ्गशालामा फ्लडलाइट जडान, दर्शकका लागि सिट व्यवस्थापन तथा फर्निसिङका कामको लागत अनुमान तयार गरी निर्माण प्रक्रिया अघि बढाउन भवन विभागसँग समन्वय गर्न निर्देशन दिनुभयो ।

रङ्गशालाको बाँकी निर्माण कार्यका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको जानकारी दिँदै मन्त्री लम्सालले आवश्यक प्रक्रिया पूरा गरी दुईदेखि तीन महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्यसहित अघि बढ्नुपर्ने बताउनुभयो । त्यसपछि तत्काल बोलपत्र प्रक्रिया सुरु गर्न सकिने उहाँको भनाइ थियो ।

रङ्गशालामा फ्लडलाइट जडानलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै उहाँले आगामी एनपिएलका खेलसमेत यहाँ सञ्चालन गर्न सकिने सम्भावना रहेको बताउनुभयो । एनपिएलको चौथो संस्करण होम-अवे प्रणालीमा सञ्चालन गर्ने वा पोखरा र चितवनलगायतका मैदान प्रयोग गर्ने विषयमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले निर्णय गरे गौतमबुद्ध रङ्गशालामा पनि खेल आयोजना गर्न सकिने उहाँले बताउनुभयो ।

आगामी संस्करणका खेल गौतमबुद्ध रङ्गशालामा सञ्चालन हुने विषय भने क्यानको निर्णयमा निर्भर रहने मन्त्री लम्सालले स्पष्ट पार्नुभयो । प्रतियोगिताका खेल विभिन्न स्थानमा विकेन्द्रित गरी तीनदेखि चारवटा मैदान प्रयोग गर्ने निर्णय भए चितवनमा पनि खेल आयोजना हुन सक्ने उहाँको भनाइ थियो ।

रङ्गशालाको बाँकी निर्माण सम्पन्न गर्ने, फ्लडलाइट जडानका लागि लागत अनुमान तयार गर्ने तथा आवश्यक प्रक्रिया पूरा गरी बोलपत्र आह्वान गर्ने विषयलाई निरीक्षणका क्रममा प्राथमिकता दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *