नेप्से परिसूचकमा भारी गिरावट, ३२ अंकले घट्यो
काठमाडौँ, २७ फागुन । नेप्से परिसूचकमा आज ३२.२१ अंकको गिरावट आएको छ। पछिल्लो सात दिनदेखि निरन्तर ओरालो लागिरहेको पुँजीबजारमा आज १.१७ प्रतिशतको गिरावट देखिएको हाे।
यस गिरावटसँगै नेप्से परिसूचक दुई हजार सात सय १९ दशमलव २० बिन्दुमा पुगेको छ ।
आज नेप्सेमा सूचीकृत तीन सय तीन कम्पनीका एक करोड ५५ लाख ५९ हजार छ सय ८३ कित्ता शेयरहरु ९२ हजार ३१ पटक खरिद बिक्री भएका छन्। उक्त कारोबारबाट रू आठ अर्ब ३९ करोड ११ लाख ४९ हजार बराबरको रकम परिचालन भएको छ ।
आज कारोबार भएका समूहहरुमध्ये विकास बैंक समूहमा १.९३ प्रतिशतको वृद्धि देखिएको छ भने अन्य सबै समूहको उपसूचक नकारात्मक रहेका छन्। बैंकिङ समूहमा ०.७१ प्रतिशत, वित्त समूहमा १.५७ प्रतिशत, होटल तथा पर्यटन समूहमा १.१३ प्रतिशत, जलविद्युत् समूहमा १.५१ प्रतिशत, लगानी समूहमा १.८९ प्रतिशत र जीवन बीमा समूहमा १.३० प्रतिशतले गिरावट आएको छ।
यसैगरी, उत्पादन तथा प्रशोधन समूह २.४९ प्रतिशत, लघुवित्त समूह ०.८९ प्रतिशत, म्युचुअल फन्ड समूह ०.१० प्रतिशत, निर्जीवन बीमा समूह ०.९९ प्रतिशत, व्यापार समूह १.७९ प्रतिशत र अन्य समूह १.६८ प्रतिशतले घटेका छन्।
आज कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड अग्रस्थानमा रहेको छ। उक्त कम्पनीको रू ५८ करोड ६५ लाख १७ हजार बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, कारोबार भएका शेयर सङ्ख्याका आधारमा महालक्ष्मी विकास बैङ्क लिमिटेड सबैभन्दा अगाडि रहेको छ, जसको नौ लाख ९१ हजार चार सय ४४ कित्ता शेयर किनबेच भएको छ।