लगातार घटेको नेप्सेमा आज दोहोरो अङ्कको वृद्धि

काठमाडौँ, २८ फागुन । पछिल्लो सात कारोबार दिन लगातार घटेको नेप्से परिसूचकमा आज भने दोहोरो अङ्कको वृद्धि भएकाे छ। आज नेप्से परिसूचक १७.२८ अङ्कले बढेर दुई हजार सात सय ३६.४८ को विन्दुमा पुगेको हाे।
आज विभिन्न तीन सय २३ कम्पनीका दुई करोड २९ लाख ४१ हजार तीन सय ६५ कित्ता शेयर ७९ हजार दुई सय ३६ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब २३ करोड ५२ लाख ६८ हजार सात सय ५५ बराबरको कारोबार भएको छ।
आजको कारोबारमा विकास बैंक समूह ०.३३ प्रतिशत र लघुवित्त समूह ०.२७ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै लगानी समूह १.७६ प्रतिशत र अन्य समूह १.५७ प्रतिशतले बढेको छ।
बैंकिङ ०.५३, वित्त ०.०२, होटल तथा पर्यटन ०.६४, जलविद्युत् ०.८५, जीवन बीमा ०.६४, उत्पादन तथा प्रशोधन ०.१८, म्युचुअल फन्ड ०.१०, निर्जीवन बीमा ०.४० र व्यापार समूह ०.२१ प्रतिशतले बढेको छ।
पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै ९.७९ प्रतिशतले बढेको छ। साथै विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा आज सबैभन्दा धेरै माछापुच्छ्रे बैंक लिमिटेड प्रमोटर शेयर रू ८१ करोड ३६ लाख ५२ हजार एक सय बराबरको ८१ लाख ३६ हजार पाँच सय २१ कित्ता कारोबार भएको नेप्सेले जनाएको छ।