भँगेराको सङ्ख्या बर्सेनि घट्दै : संरक्षणको खाँचो
काठमाडाैं, ८ चैत । कञ्चनपुरमा तीव्र सहरीकरणका कारण भँगेराको सङ्ख्या बर्सेनि घट्दै गएको पाइएको छ। पुराना घरहरू भत्काएर पक्की घर बनाउने क्रम बढेपछि भँगेराको बासस्थान नासिँदै गएको हो।
शुक्लाफाँटा नगरपालिका–३ का पहरू दहितले विगतमा भँगेराको चिरबिर आवाजले बिहान भएको सङ्केत दिने गरेको स्मरण गर्दै भने, “पहिला घरका आँगनमा खेल्दै रमाउँदै गरेका भँगेरा देखिन्थे। अहिले ती सबै विगत भइसके। अब न भँगेराको चिरबिर आवाज सुनिन्छ, न त पहिलेजस्तो भँगेरा आँगनमा राखेको बिस्कुन खान आउँछन्।” उनले आक्कलझुक्कल मात्र भँगेरा देखिने गरेको बताए।
दहितले तीव्र सहरीकरणलाई भँगेरा विनाशको मुख्य कारण मानेका छन्। भँगेरालाई गुँड लगाउन ठाउँ नै नभएपछि सङ्ख्या घट्नु स्वाभाविक भएको उनको भनाइ छ। भँगेराको सङ्ख्या घट्दै जानु चिन्ताको विषय भएको उनले बताए।
चराविज्ञ हिरूलाल डगौराका अनुसार मोबाइलका टावरबाट निस्कने विकिरणले भँगेराको दिशा पत्ता लगाउने प्रणालीमा असर गर्छ, जसले प्रजनन क्षमतामा प्रतिकूल असर पार्छ। विकिरणले मस्तिष्कमा असर गर्दा भँगेराको मृत्यु हुने गरेको समेत पाइएको छ। “ध्वनि प्रदूषणले पनि भँगेरालाई असर गर्छ,” उनले भने, “खेतबारीमा किसानले विषादिको अत्यधिक प्रयोग गर्दा भँगेराको मृत्यु हुने गरेको छ।”
खेतबारीमा हुने कीरा विषादीका कारण मर्ने गरेकाले भँगेरालाई आहारा पनि कम हुँदै गएको उनले बताए। काग, बिरालो, अन्य सिकारी चराले भँगेराको सिकार गर्ने भएकाले पनि सङ्ख्यामा कमी देखिएको उनको भनाइ छ।
डगौराका अनुसार भँगेरा जैविक विविधता र इकोसिस्टमका लागि महत्त्वपूर्ण छ। भँगेरा जोगाउन घरघरमा गुँड लगाउन सक्ने व्यवस्था गरिनुपर्छ। गुँड लगाउने वातावरण बनाउने कार्यसँगै छानामा दाना र पानीको व्यवस्था जस्ता ससाना कार्य गरे भँगेरालाई जोगाउन सकिन्छ। उनले भँगेरालाई जोगाउन किसानले संयमतापूर्वक विषादीको प्रयोग गर्नुपर्ने सल्लाह दिए।
चेतना जगाउने उद्देश्यले प्रत्येक वर्षको मार्च २० मा भँगेरा दिवस मनाउने गरिन्छ। यस वर्षको भँगेरा दिवसको नारा ‘म भँगेरालाई माया गर्छु’ (आइ लभ स्प्यारो) रहेको छ।
चरा संरक्षणका क्षेत्रमा काम गर्ने सङ्घसंस्थाले भँगेराबारे चेतना फैलाउने काम गरेका छन्। चराप्रेमीले आआफ्नो घर वरिपरि २० मिनेट भँगेरा गणनाको काम गरेका छन्। कञ्चनपुरमा भँगेरालाई गुँड बनाउन सहजताका लागि घरको बरण्डा, घर वरिपरिका रूखमा कागजका बट्टा राख्ने कार्य गरिएको चरा संरक्षणकर्मी सुभन चौधरीले बताए।