निलबाराहीकाे पिकनिक स्पटको पार्किङमा शव भेटियो, हत्याको आशंका

भक्तपुर, १० चैत । भक्तपुरकाे निलबाराहीमा एक जना पुरुष मृत फेला परेका छन्। मध्यपुर ठिमी नगरपालिका-९ बोडे निलबाराहीस्थित पिकनिक स्पटको पार्किङमा आइतबार बिहान ६६ वर्षीय ओमप्रकाश राई मृत अवस्थामा भेटिएका हुन्।
जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेका अनुसार मृतक खोटाङ केपिलासगढी गाउँपालिका-२ घर भई बोडेमा बस्दै आएका थिए र उनी कवाडी सामान टिप्ने काम गर्थे।
प्रहरीले घटना शंकास्पद रहेको जनाएको छ। मृतक राईको कानको छेउ र टाउकोमा चोट देखिएको छ। घटनास्थल नजिकै रगत लागेको ढुंगा भेटिएकाले ढुंगाले हिर्काएर हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ। प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ।