पत्रकार रजकको निधन: पत्रकार महासंघद्वारा विरोध प्रदर्शन गर्दै श्रद्धाञ्जली

काठमाडौं,१६ चैत । पूर्वराजा समर्थकहरूको हिंसात्मक आन्दोलनमा परी ज्यान गुमाएका पत्रकार सुरेश रजकप्रति नेपाल पत्रकार महासंघले श्रद्धाञ्जली अर्पण गरेको छ।

रजकको मृत्युको सत्यतथ्य पत्ता लगाई दोषीलाई कडा कारबाहीको माग गर्दै महासंघको अगुवाइमा आज बिहान माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ।

शुक्रबार पूर्वराजा समर्थकहरूको प्रदर्शनको भिडिओ खिच्ने क्रममा एभिन्युज टेलिभिजनका क्यामेरापर्सन रजकको शव जलेको अवस्थामा फेला परेको थियो।

पत्रकार महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्यले पत्रकारहरूको जीवन रक्षाका लागि सबै पत्रकार एकजुट हुनुपर्ने बताए। उनले मृतक रजकलाई न्याय दिलाउन महासंघ निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे।

विरोध प्रदर्शनमा पत्रकार महासंघका पूर्वअध्यक्षहरू तारानाथ दाहाल, धर्मेन्द्र झा, शिव गाउँले लगायतको उपस्थिति थियो। प्रेस चौतारी, प्रेस युनियन, प्रेस सेन्टर नेपालका नेताहरूले रजकलाई न्याय दिन र परिवारलाई क्षतिपूर्ति दिन माग गरे।

महासंघले स्थापना दिवसका अवसरमा तय भएका सबै कार्यक्रम स्थगित गरी विरोध प्रदर्शनमा उत्रिएको जनाएको छ। महासंघका केन्द्रीय कोषाध्यक्ष रामकृष्ण अधिकारीका अनुसार आजै महासंघको आकस्मिक बैठक बसी थप संघर्षका कार्यक्रम तय गर्ने र सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ।