बार्सिलोना र रियल म्याड्रिडबिच कोपा डेल रेको उपाधि भिडन्त
म्याड्रिड, २१ चैत । कोपा डेल रेको उपाधि भिडन्त एल क्लासिको हुने भएको छ । बार्सिलोना बुधबार राति एट्लेटको म्याड्रिडलाई १–० ले हराएर कोपा डेल रेको फाइनलमा पुग्यो । बार्सिलोनाले रियल म्याड्रिडसँग फाइनल खेल्नेछ । एक दिनअघि रियल म्याड्रिडले रियल सोसिड्याडलाई अतिरिक्त समयमा हराएर फाइनलमा स्थान बनाएको थियो ।
बार्सिलोना सर्वाधिक पटक कोपा जित्ने क्लब हो । बार्सिलोनाले ३१ पटक कोपाको ट्रफी हासिल गरेको छ । यद्यपि सन् २०२१ देखि बार्सिलोना फाइनलमा पनि पुग्न सकिरहेको थिएन । बार्सिलोना चार वर्षपछ कोपा डेल रेको उपाधि भिडन्तमा पुगेको हो । बार्सिलोना र रियल म्याड्रिडबिच पछिल्लो पटक सन् २०१३–१४ सत्रमा कोपा डेल रेको फाइनल भिडन्त भएको थियो । सो बेला रियल म्याड्रिड च्याम्पियन बनेको थियो ।
एट्लेटिको म्याड्रिडविरुद्धको सेमफाइनलको दोस्रो लेगमा बार्सिलोनाका लागि फरोन टोरेजले निर्णायक गोल गरे । बार्सिलोनामा भएको पहिलो लेग ४–४ ले बराबरीमा सकिएपछि बार्सिलोना दबाबमा थियो । तर एट्लेटिकोले घरेलु मैदानको फाइदा उठाउन सकेन । एजेन्सी