नेपाल सुपर लिग

काठमाडौँ र झापाले अङक बाँडे

काठमाडौँ, २१ चैत । नेपाल सुपर लिग (एनएसएल)मा काठमाडौ रेजर्स एफसी र झापा एफसीले दुई खेल खेल्दा जित हासिल गर्न सकेका छैनन् भने हारेका पनि छैनन् । काठमाडौ रेजर्सले बिहिबार झापा एफसीसँग गोलरहित बराबरीमा खेल्यो । पहिलो संस्करणको विजेता काठमाडौँ रेजर्स र झापा एफसीको यो लगातार दोस्रो बराबरी हो । काठमाडौँ रेजर्सले उद्घाटन खेलमा गत विजेता ललितपुर सिटी एफसीसँग २–२ ले रोकिएको थियो । झापा एफसीले भने बुटवल लुम्बिनीसँग पनि गोलरहित बराबरीमै खेलेको थियो ।

दशरथ रङगशालमा भएको खेलको छैटौँ मिनेटमै काठमाडौँ गोलको निकै नजिक पुगेको थियो । विदेशी खेलाडी अमाडोउ डियोपले एकल प्रयासमा डिबक्ससम्म पुगेर प्रहार गरेको बल गोलपोस्टमा लागेर फर्केको थियो । जसले झापा एफसीलाई भाग्यको साथ प्राप्त भएको देखिएको थियो । यद्यपि खेलको इन्जुरी समयमा झापाका आरोन थापाले प्रहार गरेको बल पनि गोलपोस्ट लागेर फर्केपछि काठमाडौँ जोगिएको थियो ।

यसबिच खेलको २७ औँ मिनेटमा डियोपकै पासमा काठमाडौँका स्ट्राइकर जिलेस्पी जङग कार्की सहज गोल गर्न असफल बनेका थिए । पूर्वार्धमा गोल हुने खालका अवसर बनाउन नसकेको झापा उत्तरार्धको पहिलो मिनेटमै गोलको नजिक पुगेको थियो । झापाका आर्सिक लाजारको प्रहार काठमाडौँका गोलरक्षक अभिषेक बरालले उत्कृष्ट ढङगले विफल पार्नुभएको थियो । अभिषेक नै खेलपछि सर्वश्रेष्ठ खेलाडी बने ।

पोखरालाई कारवाही

एनएसलको बुधबार पोखरा थन्डर्स र ललितपुर सिटी बीचको खेलमा भएको घटनामा दोषी ठहराउँदै पोखराका अफिसियललाई प्रतिबन्ध क्लबलाई जरिवाना गरेको छ ।
एनएसएलले विहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार पोखराका अफिसियल सुन्दर थापालाई प्रतियोगिता अवधिभर रङगशाल प्रवेश गर्नबाट प्रतिबन्ध लगाएको छ । यसैगरी अनुशासन तोड्ने अर्का अफिसियल दीपक श्रेष्ठमाथि पनि दुई खेलको प्रतिबन्ध लगाइएको छ । यसैगरी पोखरा थन्डर्सले अनुशासन तोडेको र खेल भावना देखाउन नसकेको दोषसहित ५० हजार रुपियाँ तिर्नुपर्ने भएको छ ।