सेयर बजारमा सामान्य गिरावट, नेप्से २७०० अंकभन्दा तल, कारोबार उत्साहजनक

काठमाडौँ, ८ वैशाख । साताको पहिलो कारोबार दिन (आज) नेपालको सेयर बजार परिसूचक नेप्सेमा सामान्य अंकको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार, परिसूचक ७.७५ अंकले घटेर २६९८.२८ विन्दुमा झरेको छ ।

आज बजारमा कारोबार रकम भने उत्साहजनक रह्यो । ३१९ वटा विभिन्न कम्पनीका २ करोड १२ लाख ३ हजार ७६६ कित्ता सेयर, ७८ हजार ६७८ पटकको कारोबारमार्फत कुल ८ अर्ब ७७ करोड ५७ लाख २० हजार २९३ रुपैयाँ बराबरको खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।

आज कारोबार भएकामध्ये ६ वटा समूहका उपसूचक सकारात्मक रहे भने बाँकी सबै समूहमा गिरावट देखियो । बढ्ने समूहहरूमा विकास बैंक (०.४३ प्रतिशत), होटल तथा पर्यटन (०.०६ प्रतिशत), जलविद्युत् (०.७७ प्रतिशत), लगानी (०.१७ प्रतिशत), उत्पादन तथा प्रशोधन (०.०३ प्रतिशत) र म्युचुअल फन्ड (०.४४ प्रतिशत) रहेका छन् ।

यसैगरी, बैंकिङ समूहमा ०.८५ प्रतिशत, वित्तमा १.०३ प्रतिशत, जीवन बीमामा ०.१६ प्रतिशत, लघुवित्तमा ०.११ प्रतिशत, निर्जीवन बीमामा ०.१५ प्रतिशत, व्यापारमा सर्वाधिक १.५२ प्रतिशत र अन्य समूहमा १ प्रतिशतको गिरावट आएको छ ।

सर्वाधिक कमाउनेमा नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेड र क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन् ।

सर्वाधिक गुमाउनेमा एनएमबी हाइब्रिड फन्ड–२ को सेयरधनी रहेका छन् । यस फन्डको मूल्य ७.९० प्रतिशतले घटकाे छ ।