‘केन्द्र रेखा’ विवादले धुलिखेल–साँगा सडकको पुलबजार खण्डमा काम रोकियो
काभ्रेपलाञ्चोक, १० वैशाख । अरनिको राजमार्गअन्तर्गत स्तरोन्नति भइरहेको साँगा–धुलिखेल सडकखण्डको बनेपास्थित पुलबजार क्षेत्रमा स्थानीयको अवरोधका कारण डेढ महिनादेखि काम ठप्प भएको छ ।
सडक विभागको सूर्यविनायक–धुलिखेल सडक आयोजनाका अनुसार, पुलबजारको करिब २०० मिटर क्षेत्रमा सडकको ‘केन्द्र रेखा’ (सेन्टर लाइन) कहाँबाट मान्ने भन्ने विषयमा विवाद हुँदा विस्तार कार्य रोकिएको हो ।
आयोजनाले सडकको डिजाइनअनुसार केन्द्रबाट दायाँबायाँ बराबर छोडेर काम गरिरहेकोमा स्थानीयले भने दुवैतर्फ रहेका घरबाट बराबर दूरी कायम हुनुपर्ने माग राखेका छन् ।
“हामी डिजाइनअनुसार सडकको बीचबाट बराबर भाग छुट्याएर काम गरिरहेका छौँ, तर स्थानीयले घरको दूरी बराबर हुनुपर्छ भनेर विवाद गरेपछि निर्माण रोकिएको हो,” आयोजनाका इन्जिनियर विष्णु खनालले बताउनुभयो । उहाँका अनुसार, विवाद समाधानका लागि बनेपा नगरपालिकाका जनप्रतिनिधि र स्थानीयबीच भएको छलफल पनि निष्कर्षविहीन टुङ्गिएको छ ।
पुलबजार क्षेत्रको अवरोधले बनेपाको मुख्य सहरी क्षेत्र (चण्डेश्वरी खोलादेखि चारदोबाटोसम्म) को निर्माण कार्यसमेत प्रभावित भएको छ । यदि पुलबजारको अवरोध तत्काल नहटे वर्षाअघि काम सुचारु गर्न कठिन हुने इन्जिनियर खनालको भनाइ छ । यद्यपि, धुलिखेललगायत अन्य क्षेत्रमा भने पर्खाल, नाली र पेटी निर्माणको काम तीव्र गतिमा भइरहेको र केही दिनमै कालोपत्रको तयारी भइरहेको आयोजनाले जनाएको छ ।
पुलबजार क्षेत्रमा सडक मापदण्डभित्रका घरटहरा हटाउने, बिजुलीका पोल सार्ने, अप्टिकल फाइबर र हाइटेन्सन लाइन व्यवस्थापन गर्ने काम पनि रोकिएका छन् । समग्र साँगा–धुलिखेल खण्डमा नौ वटा घरटहरा हटाउनुपर्ने, बिजुलीका पोल सार्ने काम ७० प्रतिशत सकिएको र एक ठाउँमा हाइटेन्सन पोल सार्न बाँकी रहेको आयोजनाले जनाएको छ ।
समग्र आयोजना नै ढिलाइ हुने
यसैबीच, भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्म १६ किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्ने समग्र आयोजना नै निर्धारित समय (विसं २०८२ पुससम्म) मा नसकिने भएको छ । हालसम्म दुवै खण्ड (सूर्यविनायक–साँगा र साँगा–धुलिखेल) को काम करिब ४५ प्रतिशत मात्र सम्पन्न भएको छ ।
आयोजनाका सूचना अधिकारी सजना अधिकारीका अनुसार, मापदण्डभित्रका घर–टहरा भत्काउन, रुख काट्न, पोल तथा तार सार्न ढिलाइ हुनु र बनेपा क्षेत्रमा स्थानीय विवादका कारण समयमै काम सम्पन्न नहुने देखिएको हो । तोकिएको समयसम्म करिब ६५ प्रतिशत काम सकिने अनुमान छ ।