आर्सनलको बराबरीले लिभरपुल प्रिमियर लिग उपाधिबाट एक अङक टाढा
लन्डन, वैशाख ११ गते । इङलिस प्रिमियर लिगमा आर्सनल बुधबार राति क्रिस्टल प्यालेससँग २–२ ले बराबरीमा रोकिएको छ ।
आर्सनलले गृह मैदानमा दुई पटक अग्रता बनाएर पनि खेल जित्न सकेन । खेलको तेस्रो मिनेटमै जाकुब किवियरको फ्रिकिक गोलबाट आर्सनललाई खेल सहज हुने अनुमान गरिएको थियो । खेलको २७ औँ मिनेटमा इबेरिची इजेको भली प्रहारमार्फत् बराबरी गोल गरे । खेलको ४२ औँ मिनेटमा लियान्ड्रो ट्रोसाडले गोल गरेपछि आर्सनल पुनः अगाडि भयो । तर खेलको ८३ औँ मनेटमा क्रिस्टल प्यालेसका जिन फिलिप माटेटाले स्कोर २–२ पारे ।
यस नतिजाले लिभरपुललाई फाइदा भएको छ । प्रिमियर लिगको कीर्तिमान विजेताको बराबरी गर्नबाट लिभरपुललाई अब मात्र एक अङक जरुरी भएको छ । लिभरपुलभन्दा आर्सनल १२ अङकले पछाडी भइसकेको छ । आर्सनलले भने लगातार तेस्रो वर्ष उपविजेतामै चित्त बुझाउने पर्ने स्थिति बनेको छ।
पछिल्ला पाँच वर्षमा लिभरपुल दोस्रो पटक च्याम्पियन हुने सङघारमा रहेको हो । सन् २०२० मा च्याम्पियन बन्दा कोभिडका कारण लिभरपुलले समर्थकसामू उपाधिको खुशी पनि मनाउन पाएको थिएन । टोटेनहामसँग आइतबार हुने खेलमा हार मात्र जोगाएपनि लिभरपुल च्याम्पियन बन्नेछ । जुन लिभरपुलको कीर्तिमान बराबरी २० औँ प्रिमियर लिग उपाधि हुने छ। । म्यान्चेस्टर युनाइटेडले सर्वाधिक २० पटक प्रिमियर लिग उपाधि जितेको छ ।