रियल म्याड्रिडलाई हराएर बार्सिलोना कोपा डेल रेको उपाधि जित्न सफल
बार्सिलोना (स्पेन), वैशाख १४ गते । बार्सिलोनाले आइतबार अतिरिक्त समयमा रियल म्याड्रिडलाई ३–२ ले हराएर कोपा डेल रेको उपाधि जितेको छ ।
खेलको ११६ औँ मिनेटमा जुलिस कोन्डेले निर्णायक गोल गरे । बार्सिलोनाले कीर्तिमान ३२ औँ पटक कोपा डेल रेको उपाधि जितेको हो । यस सत्रमा बार्सिलोना तीन प्रमुख उपाधिको अभियानमा छ । बार्सिलोना स्पेनी लिग र च्याम्पिन्स लिग उपाधिको होडमा पनिछ । खेलको २८ औँ मिनेटमा पेड्री गोन्जालेजको गोलको सहयोगमा बार्सिलोनाले अग्रता बनाएको थियो । उनले लामो दुरीबाट सीधै गोल गरेका हुन् ।
मध्यान्तरपछि किलियन एमबापेले फ्रिककमा र मिडफिल्डर अउरिलिन सुवामेनीको हेड गोलले रियल म्याड्रिड २–१ ले अगाडी भयो । वैकल्पिक खेलाडीको रुपमा मैदामा आएर एमबापेले ७० औँ मिनेट र सुवामेनले ७७ औँ मिनेटमा गोल गरे । निर्धारीत समय सकिन छ मिनेट बाँकी छँदा बार्सिलोनाका फेरान टोरेजले गोल गरेपछि खेल अतिरिक्त समयमा गएको थियो त्यसपछि कोन्डेले निर्णायक गोल गरेर बार्सिलोनालाई उपाधि दिलाए । एपी