नेवाः देय् दबूमा नेतृत्वको दौडमा सत्यनारायण डंगोल, यस्ता छन् उहाँका एजेण्डा (भिडियो अन्तर्वार्ता)

सत्यनारायण डंगोल अहिले नेवाः देय् दबूको महासचिवको जिम्मेवारीमा हुनुहुन्छ । उहाँ नेवाः जातिको आर्थिक र सामाजिक समृद्धिको अभियान सञ्चालन गर्ने, नेवाः संस्कृतिको माध्यमबाट आर्थिक समृद्धिको अभियान सञ्चालन गर्ने, राष्ट्र निर्माण तथा सामाजिक उत्थान कार्यमा नेवाः जातिको योगदान र भूमिकाको ऐतिहासिक प्राज्ञिक अध्ययन अनुसन्धान गर्ने जस्तो अभियानसहित आगामी जेठ २ गतेबाट हुने नेवाः देय् दबूको आठौँ केन्द्रीय महाधिवेशनमा अध्यक्षको उम्मेदवारका रुपमा अघि बढ्नु भएको छ ।

नेवाः देय् दबूको युवा फाँटको संस्थापक अध्यक्षको जिम्मेवारीसँगै सचिव र महासचिवको समेत जिम्मेवारी सम्हाली सक्नु भएका उहाँले नेपालभाषा, नेपाल लिपि र नेवाः संस्कृतिको राष्ट्रव्यापि प्रशिक्षण सञ्चालन गर्ने, नेपालभाषा, नेपाल लिपि र नेवाः संस्कृति संरक्षण तथा उत्थानका लागि राष्ट्रिय, प्रदेश व स्थानीय सरकारबाट नियमित वजेटको व्यवस्था गराउने जस्ता एजेण्डालाई पनि उहाँले प्रमुख प्राथमिकतामा राख्नुभएको छ ।

केन्द्रीय, प्रदेश, जिल्ला र पालिका स्तरमा नेवाः देय् दबूको आफ्नै भवन निर्माण गर्ने, नेपालभाषा र नेपाल लिपिलाई सरकारी कामकाजी भाषाका रूपमा प्रयोग गराउने, मातृभाषा शिक्षाका रूपमा नेपालभाषाको अध्ययन अध्यापन अभियान सञ्चालन गर्ने, नेवाः वस्ती पहिचान प्रदर्शन अभियान सञ्चालन गर्ने ‘जहाँ नेवार त्यहाँ भिंद्य’ स्थापना, स्थानीय सरकारसँग समन्वय गरी सांस्कृतिक संरक्षण क्षेत्र घोषणा अभियान सञ्चालन गर्ने, नेवाः देय् दबूको सांगठनिक तथा विषयगत संरचना प्रभावकारी व क्रियाशील बनाउने जस्ता योजना पनि उहाँले अध्यक्षको उम्मेदवार बन्दै गर्दा अघि सार्नुभएको छ ।

डंगोलसँग महाधिवेशनको तयारी, उहाँका एजेण्डा, जित्ने आधारलगायत विषयसँग केन्द्रित भएर मैत्रिन्युजले गरेको कुराकानीः

तपाईँ महासचिवको कार्यकारी भूमिकामा हुनुहुन्छ । त्योसँगै महाधिवेशनको पनि तयारी भैरहेको छ । स्वाभाविक रुपमा दौडधूप बढी नै होला होइन ?

म महासचिव अर्थात कार्यकारी भूमिकामा रहेका कारण पनि सबै भन्दा पहिला त महाधिवेशन कसरी सफल पार्ने भन्नेमा नै बढी केद्रित भएको छु । त्योसँगै अध्यक्षको तयारी पनि गरेका कारण साथीभाईहरुसँग भेटघाट गर्ने, सल्लाह लिनेलगायतका कामले पनि थप व्यस्त बनाएको छ ।

तपाईँ युवा फाँटको प्रमुख, सचिव हुँदै महासचिवको जिम्मेवारीमा हुनुहुन्छ । अब अध्यक्षको तयारीमा पनि हुनुहुन्छ । सुरुवातमै नेवाः देय् दबू के–हो ? यहाँबाट संवाद सुरु गरौँ कि भन्ने लाग्यो ।

पछिल्लो जनगणना अनुसार नेपालमा करीब १४ लाख नेवार समूदाय रहेको देखिन्छ । नेवाः देय् दबू ती १४ लाख नेवार समूदायको छाता संगठन हो ।
हामीले नेवाः देय् दबूबारे चर्चा गर्दा यस्तको इतिहासबारे पनि केही जानकारी लिनुपर्ने हुन्छ । ०५१ साल अघिसम्म नेपाल भाषा मंकाखल नामबाट भाषिक आन्दोलनसँगै सबै प्रकारको नेतृत्व गरिरहेको थियो । त्यसैबेला देशभरीकै नेवार समूदायलाई एउटै छातामुनि राख्ने उदेश्यसहित २०५१ साल मंसिरमा राष्ट्रिय भेला भयो । त्यहि भेलाले राष्ट्रिय संगठनको आवश्यकता छ भन्ने निर्णय गर्यो र त्यसपछि २०५२ सालमा नेवाः देय् दबू स्थापना भयो । त्यसपछि नेवाः देय् दबूले निरन्तर नेवाः समूदायको हक,हित र संरक्षणमा काम गर्दै आएको छ । म पनि नारायणगढमा २०६२ सालतिर भएको भएको विद्यान सम्मेलनपछिदेखि निरन्तर आवद्ध रहँदै आएको छु । त्यतिबेला अञ्चल र विकास क्षेत्र भएकाले संरचना पनि त्यहि खालको थियो ।

त्यसपछि फेरि मुलुक संघीयतामा प्रवेश गरेपछि नेपालगञ्जमा विधान सम्मेलन सम्पन्न भयो । त्यो सम्मेलनले नेवाः देय् दबूलाई संघीय ढाँचामा बदलेको छ । अहिले नेवाः समूदाय सबै जिल्लासम्म फैलिएर रहेका छन् । हामीले डोल्पा जिल्ला त नेवार समूदाय नहोन भन्ने ठानेका थियौँ । त्यहाँबाट पनि चार–पाँच वर्ष अघि एक जना नेवार समूदायका व्यक्ति नेवाः देय् दबूसँग जोडिने भन्दै खोज्दै आउनुभयो ।

हामी औधि खुशी भयौँ । त्यहाँ पनि चार घर नेवार रहेछन् । नेवाः देय् दबूको संगठन संरचना नै ६८ जिल्लामा पुगेको छ । हामी सातै प्रदेश , अधिकांश जिल्ला र पालिका हुँदै वडातहसम्म पनि सांगठनिक संरचना निर्माण गरेका छौँ । यो हाम्रो ठूलो उपलब्धि हो भन्ने लागेको छ । हामीले नेवारहरुको बाहुल्यता रहेको काठामाडौं उपत्यकाका तीन जिल्लालाई छुट्टै क्षेत्र अर्थात हामी स्वनिग भन्छौँ । त्यसलाई छुट्टै रुपमा सांगठनिक संरचना बनाएर अघि बढाएका छौँ । यसरी हेर्दा नेवाः देय् दबू नेवार समूदायको साझा संगठनका रुपमा अघि बढेको छ ।

तपाईँले अध्यक्षको पनि तयारी गर्नुभएको छ । तपाईँको योजना के–के छन् ?

नेवाः देय् दबू सुरुमा भाषिक आन्दोलनका रुपमा स्थापना भएको संगठन हो । स्थापना कालमा यो संगठन अधिकारका प्राप्तिको लडाईँ पनि थियो । अहिले नेपालको पहिचानका लागि नेवार समूदायलाई हटाउँने हो भन्ने त्यो संभव छैन । त्यसैले हामीले हाम्रो पहिचान नेपालको पनि पहिचान हो भन्ने स्थापित गराउँदै अघि बढेका छौँ । नेवारहरुको संस्कार र सस्कृतिलाई असाध्यै प्रतिकुल अर्थात कठोर समयमा पनि संरक्षण गर्दै आएका छौँ । राज्यले नै चाहे जति ध्यान नदिदाँ अहिले पनि हामीले भाषिक आन्दोनवाट जति उपलब्धि हाँसिल गर्नुपर्ने हो गर्न सकिरहेका छैनौँ ।

भाषाको नीतिमा राज्यको अहिलेसम्म प्रष्ट धारणा आउन नसक्दा पनि केही समस्या भएको छ । हामीले आगामी दिनमा यसको उत्थान र प्रवद्र्धनमा ध्यान दिनको अर्को विकल्प छैन । हाम्रो आफ्नै भाषा छ । हाम्रो आफ्नै संस्कृत छ । हाम्रो आफ्नै लिपि छ । हामीसँग सबै छ । त्यसको संरक्षणका लागि हामी सबै लाग्नुपर्छ । त्यसको नेतृत्व नेवाः देय् दबूले गर्नुपर्छ । मैले नेतृत्व तयारी गर्दै गर्दा यो कुरालाई पनि ध्यानमा राखेको छु ।

तपाईँ अहिले पनि महासचिव हुनुहुन्छ । यस्ता विषयमा राज्यलाई तपाईँहरुले कत्तिको खवरदारी गर्नुभएको छ र राज्यले पनि कत्तिको तपाईँहरुका आवाजलाई सुनेको छ जस्तो लाग्छ ?

हामीले यति धेरै यो विषयमा खवरदारी गर्दै आएका छौँ कि हाम्रो निरन्तरतको खवरदारीका कारण हामीले मुलुक संघीयतामा गएपछि केही उपलब्धिहरु पनि प्राप्त गर्न सफल भएका छौँ ।

नेपाल भाषाका कयौँ संस्कृतिहरु, साहित्यहरु, अभिलेखहरु, लिपिहरु लोप गर्न राज्य लाग्यो । अझ राणाकालको समयमा त हाम्रा धेरै संस्कृतिहरु, साहित्यहरु, अभिलेखहरु, लिपिहरु नष्ट गर्ने काम भए । त्यहिबेलादेखि चर्काउँदै आवाजले पछिल्लो समय केही सफलता प्राप्त गरेको छ र हामीले वागमती प्रदेशमा नेवार भाषालाई सरकारी कामकाजको भाषाका रुपमा मान्यता दिने भनेर निर्णय गरेको छ । यो हाम्रालागि निकै ठूलो उपलब्धि हो । नेपाल भाषा, नेवाः साहित्य समृद्ध भाषा हो, समृद्ध साहित्य पनि हो । लिपिको राजा पनि हो । त्यसैलाई राज्यले लोप गराउन निरन्तर प्रयास गर्दै आयो । हामीले निरन्तर खवरदारी गर्दै आयौँ । गरिरहेका छौँ र गरिरहने पनि छौँ ।

हामीले गुठी विधेयक ल्याउने तयारी गर्दा एक भएर गरेको आन्दोलन पनि स्मरणीय छ । गुठी विधेयकको मात्रै सन्र्दभ होइन जबजब नेवार समूदाय एकत्रित भएर उठ्छन् तबतब परिवर्तन भएका इतिहास पनि साक्षी छन् । हो, त्यहि समूदायको छाता संगठन हो नेवाः देय् दबू र हामी त्यसैको महाधिवेशनको तयारीमा जुटिरहेका छौँ ।

अघि तपाईँले १४ लाख नेवार समूदाय छन् भन्नुभयो । यी सबैलाई तपाईँहरुले नेवाः देय् दबूमा समेट्न सक्नु भएको छ ?

हो, हामीले अझै पनि सबैलाई समेट्न त सकेका छैनौ । तर, भाषिक आन्दोलनबाट सुरु भएको यो आन्दोलन अहिले संस्कृति, सम्पदाको संरक्षण संम्वद्र्धन, लिपि र जात्राहरुको संरक्षण जस्ता कुरामा पनि केन्द्रित छ । हामीले त्यसका लागि स्थानीय सरकार, प्रदेश सरकारसँग पनि मिलेर यी कामहरु गर्दै आएका छौँ । हामीले अहिले विभिन्न जिल्लामा भाषाका कक्षाहरु संचालन गर्ने, सस्कृति संरक्षणका काम गर्ने जस्ता कुरामा पनि ध्यान दिएका छौँ र चासोका साथ, उमङ्गका साथ काम गर्दै आएका छौँ ।

अघि पनि भने, तपाईँ अध्यक्षको उम्मेदवार बन्दै गर्दा यो संस्थालाई थप उचाईमा लैजानका लागि तपाईँसँग बुँदागत रुपमै भन्दा के–के योजना छन् ?
पहिलो कुरा बैचारिक हिसावले जो जहाँसुकै होस त्यो उस्को अधिकारको कुरा भयो । तर, जहाँ रहे पनि नेवार समूदायको हितका लागि निरन्तर लाग्नुपर्छ । दोस्रो, नेवार समूदायको संस्कार, सस्कृति र सम्पदाको संरक्षण गर्दै त्युसलाई आर्थिक समृद्धिसँग जोडेर हेर्नुपर्छ भन्दै आएको छु । एउटा सानो उदाहारण म उल्लेख गर्न चाहन्छु । नेवारी खाना भनेपछि विश्वभरी चर्चित छ ।

यो हाम्रो सस्कार हो र संस्कृति पनि । यसलाई हामीले बजारिकरण गर्ने हो भने मुलुकको आर्थिक समृद्धिसँग जोड्न सकिन्छ । हामीले यस्लाई यसो भेला भएर भोज खानेमा मात्रै सिमित गरेका छौँ । हामीले यसलाई व्यवसायिकतातर्फ लैजान सक्छौँ ।

म अहिले नेवाः देय् दबूको महासचिवको जिम्मेवारीमा छु । अध्यक्षको दाबी गर्दै गर्दा मैले नेवाः जातिको आर्थिक र सामाजिक समृद्धिको अभियान सञ्चालन गर्ने, नेवाः संस्कृतिको माध्यमबाट आर्थिक समृद्धिको अभियान सञ्चालन गर्ने, राष्ट्र निर्माण तथा सामाजिक उत्थान कार्यमा नेवाः जातिको योगदान र भूमिकाको ऐतिहासिक प्राज्ञिक अध्ययन अनुसन्धान गर्ने जस्ता एजेण्डा अघि सारेको छु ।

नेपालभाषा, नेपाल लिपि र नेवाः संस्कृतिको राष्ट्रव्यापि प्रशिक्षण सञ्चालन गर्ने, नेपालभाषा, नेपाल लिपि र नेवाः संस्कृति संरक्षण तथा उत्थानका लागि राष्ट्रिय, प्रदेश व स्थानीय सरकारबाट नियमित वजेटको व्यवस्था गराउने जस्ता एजेण्डालाई पनि मैले प्रमुख प्राथमिकतामा राखेको छु ।

केन्द्रीय, प्रदेश, जिल्ला र पालिका स्तरमा नेवाः देय् दबूको आफ्नै भवन निर्माण गर्ने, नेपालभाषा र नेपाल लिपिलाई सरकारी कामकाजी भाषाका रूपमा प्रयोग गराउने, मातृभाषा शिक्षाका रूपमा नेपालभाषाको अध्ययन अध्यापन अभियान सञ्चालन गर्ने, नेवाः वस्ती पहिचान प्रदर्शन अभियान सञ्चालन गर्ने ‘जहाँ नेवार त्यहाँ भिंद्य’ स्थापना, स्थानीय सरकारसँग समन्वय गरी सांस्कृतिक संरक्षण क्षेत्र घोषणा अभियान सञ्चालन गर्ने, नेवाः देय् दबूको सांगठनिक तथा विषयगत संरचना प्रभावकारी वा क्रियाशील बनाउने जस्ता योजना पनि मैले अध्यक्षको उम्मेदवार बन्दै गर्दा अघि सारेको छु ।

नेवार समूदाय भित्र पनि विभिन्न जातका आ–आफ्नै सीप र कौशल छन् । हामी सबै आ–आफ्नै सीप र कौशलले आत्मनिर्भर छौँ । हामी भिमसेनको पूजा गर्छौ । त्यो भनेको हामी आत्मनिर्भर छौँ भनेको हो । तर, ती सीप र कौशललाई राज्यले यथोचित सम्वोधन गर्न नसक्दा वा गर्न ध्यान नदिदा विस्थापित हुनुपर्ने पीडादायी अवस्था पनि छ । म नेतृत्वमा आएपछि त्यसको संरक्षण र जगेर्नामा लाग्ने छु । ती सीप र कौशललाई आधुनिक ढंगले आर्थिक समृद्धिसँग जोडेर अघि बढाउने प्रयत्नमा लाग्ने छु ।

मैले अघि पनि भने हामी भिमसेनका पुजक हौँ । मलगायतका केही साथीहरु मिलेर हामीले जहाँ नेवार समूदाय रहेका छौँ त्यहाँ भिमसेनको मुर्ती स्थापना गरौँ भन्ने अभियान चलाउँदै आएका छौँ । हामीले अहिलेसम्म धेरै ठाउँमा नेवाः देय् दबूसँग समन्वय गरेर मुर्ती स्थापना गर्दै आएका छौँ । म नेतृत्वमा आएपछि हामीले पुज्ने देवाताको सम्मान गर्दै हामी आत्मनिर्भर भएर हाम्रो सीप–कौशलसँग पनि जोडेर त्यसलाई निरन्तरता दिदैँ आर्थिक समृद्धिसँग जोड्ने अभियान चलाउनुपर्छ भन्ने मेरो मान्यता छ ।

युवा सहभागिताका लागि पनि केही योजना बनाउनु भएको छ कि ?

नेवाः देय् दबू अवकास जीवन विताउनेहरुको संस्था होइन भन्ने मान्यता राख्ने मान्छे हुँ । उहाँहरुबाट अनुभव लिने, उहाँहरुको क्षमताको कदर गर्ने, उहाँहरुको सम्मान गर्ने र युवा सहभागितासँगै नेतृत्व विकास गर्दै र नेतृत्व हस्तान्तरण गर्दै जानुपर्छ भन्ने मान्यता मेरो छ । त्यसैले मैले विभिन्न जिम्मेवारीमा रहँदा पनि युवाहरुलाई प्राथमिकता दिनुपर्छ भन्दै आएको छु र हामीले त्यो प्रयासलाई निरन्तर अघि बढाएका पनि छौँ । अब म नेतृत्वमा आएपछि यसलाई अझ प्रभावकारी बनाउने मेरो प्रयास रहन्छ ।

त्योसँगै सबै जिल्लामा नेवाः देय् दबूको संगठन विस्तार गर्ने, सबैलाई प्रभावकारी बनाउने, गुठीलगायतलाई पनि समावेश गर्दै अझ प्रभावकारी बनाउने जस्ता अभियान पनि मेरो नेतृत्वमा अघि बढाउने प्रयास गर्ने छु । सबैलाई बुझाएर आवद्धता बढाउने जस्ता योजना पनि मैले बनाएको छु ।

तपाईँले जितको अपेक्षाचाँहि कत्तिको गर्नुभएको छ ?

सबै भन्दा ठूलो आशावादी के हो भने म युवा अवस्थादेखि निरन्तर यो संस्थामा आवद्ध रहँदै आएको छु । धेरै जिल्ला पुगेको छु, धेरैसँग सम्पर्कमा पुगेको छु । मैले उहाँहरुको भावना र उहाँहरुले मेरो सक्रियता र मैले गरेका कामलाई नजिकबाट नियाल्नु भएको छ । उहाँहरुले पनि मेरो सक्रियतालाई नजिकबाट बुझेर नै होला मलाई अघि बढ्न हौसला पनि दिदैँ आउनु भएको छ । यो मेरो जितको आधार हो भन्ने लाग्छ । त्योसँगै मैले जिम्मेवारीमा रहेर गरेका कामको मूल्याङ्कनले पनि मलाई जतिको आधार तयार गर्छ भन्ने लागेको छ । मलाई अघिल्लो महाधिवेशनमा सर्वसम्मत रुपमा महासचिवमा चयन भएको थिएँ ।

त्यसपछि मैले उहाँहरु सबैको भावना अनुरुप नै काम गर्ने प्रयास गरेको छु भन्ने लागेको छ । त्यसैले मेरो भूमिकालाई मूल्याङ्कन गदै अघिल्लो पटक सर्वसम्मत महासचिव बनाउन प्रयत्न गर्ने अग्रज, समकालिन र अनुजहरुले पनि सकारात्मक भूमिका खेल्नुहुन्छ भन्ने अपेक्षा गरेको छु । म महासचिव निर्वाचित भएपछि सात वटै प्रदेश पुगेको छु । मैले अनुचित काम कहिल्यै गरेको छैन । नेवाः देय् दबूको हामी सबैको साझा संस्था हो । त्यसैले मैले र मेरो कामले यो संस्थाको शीर निहुराउने काम भएको छैन भन्नेमा विश्वस्त छु ।

तपाईंहरुको प्रतिनिधि सङ्ख्याचाँहि कति हो ?

मुलुकभरीबाट करीब ६ सय २० छ । हामीले सकेसम्म सबै प्रतिनिधिको उपस्थितिको अपेक्षा गरेका छौं । हामीले थारु समूदायको पहिचान रहेको कावासोतीको थारु संग्राहलयमा उद्घाटन र अमलटारीमा थारु समुदायको होमस्टे रहेको ठाउँमा बन्दशत्र गर्दैछौँ ।

अन्त्यमा महाधिवेशनमा आउन ठिकठाक परेका प्रतिनिधिलाई के भन्नुहुन्छ ?

सबै प्रतिनिधि साथीहरुलाई मेरो विनम्रताका साथ अनुरोध तपाईँहरु यो आठौँ महाधिवेशनमा भाग लिइदिनुहोस् । यो आठौँ महाधिवेशन केबल नेतृत्व छान्ने प्रक्रिया मात्रै होइन अबको तीन वर्ष नेवाः देय् दबूलाई कसरी डोर्याएर अघि बढाउँछौँ भन्ने नीति निर्माण गर्ने थलो पनि हो । त्यहाँ तपाईँहरु सबैको सुझाव र भूमिकाको अहम् भूमिका छ । तपाईँहरुको उपस्थिति विना त्यो महाधिवेशन अपुरो हुन्छ । मेरो विगतको कामको मूल्याङ्कन गरेर मलाई विश्वास गरेर सहयोग गर्नुहोला म नेतृत्व लिन तयार छु ।