सेयर बजारमा सामान्य गिरावट, हाइड्रोपावर समूहमा सर्वाधिक कारोबार

काठमाडौं, २१ वैशाख । आइतबार सेयर बजारमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ। नेप्से परिसूचक ३.४४ अंकले घटेर २६२० अंकमा बन्द भएको हो।

यस दिन बजारमा कुल ९ अर्ब २४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो, जुन अघिल्लो कारोबार दिनको तुलनामा १३ करोड रुपैयाँले कम हो।

आइतबारको कारोबारमा जलविद्युत (हाइड्रोपावर) समूहको वर्चस्व रह्यो। कुल कारोबार रकमको करिब ५९ प्रतिशत हिस्सा यही समूहले ओगट्यो। जलविद्युत समूहका कम्पनीहरूको मात्रै ५ अर्ब ४४ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो। यद्यपि, उच्च कारोबारका बाबजुत जलविद्युत समूहको उपसूचक भने ०.०९ प्रतिशतले सामान्य घट्यो।

कुन समूह बढे, कुन घटे?

आइतबार बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, उत्पादन र निर्जीवन बीमा समूहका उपसूचक सकारात्मक रहे। बैंकिङ ०.१० प्रतिशत, विकास बैंक ०.०६ प्रतिशत, होटल तथा पर्यटन ०.०४ प्रतिशत, उत्पादन ०.६२ प्रतिशत र निर्जीवन बीमा समूह ०.२३ प्रतिशत ले बढे।

उता, जलविद्युतसहित फाइनान्स, लगानी, जीवन बीमा, माइक्रोफाइनान्स, व्यापार र अन्य समूहका उपसूचक भने घटे। फाइनान्स १.३० प्रतिशत, लगानी ०.८६ प्रतिशत, जीवन बीमा ०.२८ प्रतिशत, माइक्रोफाइनान्स ०.२५ प्रतिशत, व्यापार ०.८४ प्रतिशत र अन्य समूह ०.०२ प्रतिशतले ओरालो लागे।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी
आज तीन कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लाग्यो। नेपाल माइक्रोइन्स्योरेन्स, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स र ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य १० प्रतिशतले वृद्धि भयो। आइतबारदेखि नै कारोबारमा आएको ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य प्रतिकित्ता २९७ रुपैयाँ पुगेको छ।

त्यस्तै, अपरसोलु हाइड्रो इलेक्ट्रिकको मूल्य ९.८४ प्रतिशत र सपोर्ट माइक्रोफाइनान्सको मूल्य ९.०४ प्रतिशतले बढ्यो। अर्कोतर्फ, विन नेपाल लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घट्यो। रिभरफल्स पावरको ७.५५ प्रतिशत र भूगोल इनर्जी डेभलपमेन्टको ६.१५ प्रतिशतले मूल्य घटेको छ।

कारोबार रकममा हाइड्रोपावरकै दबदबा
कारोबार रकमका आधारमा पनि जलविद्युत कम्पनीहरूकै वर्चस्व रह्यो। सर्वाधिक कारोबार हुने शीर्ष १० कम्पनीमध्ये ७ वटा जलविद्युत कम्पनी नै परेका छन्। सानिमा माइ हाइड्रोपावर, ङादी ग्रुप पावर, राधि विद्युत् कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, अपी पावर कम्पनी, एचआईडीसीएल प्रमोटर, सिनर्जी पावर डेभलपमेन्ट, हिमालयन पावर पार्टनर, अरुणभ्याली हाइड्रोपावर र एचआईडीसीएल क्रमशः सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीमा रहे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *