पर्साको सुनाखरी होमस्टेमा पाहुनाको चहलपहल बढ्दा स्थानीय उत्साहित
पर्सा, २२ वैशाख । पर्साको ठोरी गाउँपालिका–५, सुवर्णपुरमा रहेको सुनाखरी मध्यवर्ती सामुदायिक होमस्टे (घरबास) मा पाहुनाको आकर्षण बढेको छ।
चालु आर्थिक वर्षमा करिब तीन हजार पाहुना भित्रिएपछि मधेस प्रदेशकै पहिलो सामुदायिक होमस्टेका सञ्चालकहरू उत्साहित भएका छन्। विगतमा पर्याप्त प्रचारप्रसार र ‘ब्रान्डिङ’ को कमीले अपेक्षाकृत चल्न नसकेको यो होमस्टेमा यस वर्ष पाहुनाको आगमन उल्लेख्य रूपमा वृद्धि भएको हो।
होमस्टेका अध्यक्ष शम्भुराम पौडेलका अनुसार गत आर्थिक वर्षमा करिब १८ सय पाहुना आएकोमा यस वर्ष वैशाख तेस्रो सातासम्ममै यो संख्या करिब तीन हजार पुगेको छ। “विशेषगरी मंसिरदेखि फागुनसम्म निर्माता अनुप पौडेलले निर्माण गरेको नेपाली र भोजपुरी भाषाको ‘इलेफेन्ट इन द फग’ चलचित्र छायांकनका लागि ६० जनाभन्दा बढी कलाकार तथा प्राविधिक बसेकाले पनि पाहुना बढाउन मद्दत पुग्यो,” पौडेलले भन्नुभयो, “पाहुनाको आगमन बढेसँगै स्थानीय होमस्टे सञ्चालकहरूमा उत्साह थपिएको छ।”
वि.सं. २०७३ देखि १५ घरमा सञ्चालन भइरहेको यो होमस्टे वीरगञ्जबाट ३४ किलोमिटर दूरीमा पर्दछ। यहाँबाट ठोरीको रमणीय दृश्यका साथै बाघमोर्चा माई, गुम्बा, प्रणामी मन्दिर, सहिद स्मारक, सुनाखरी वन र विभिन्न जंगली जनावरहरूको अवलोकन गर्न सकिन्छ। प्रत्येक घरमा दुईवटा कोठा पाहुनाका लागि व्यवस्था गरिएको छ।
होमस्टेले स्थानीय स्वाद र संस्कृतिलाई पनि प्रवर्द्धन गरिरहेको छ। यहाँ मकैको ढिँडो, लोकल कुखुरा र मकैका अन्य विशेष परिकारहरू पाहुनाले निकै रुचाउने गरेका छन्। साथै, समूहमा आउने पाहुनाका लागि तामाङ समुदायले आफ्नो मौलिक सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गर्छन्।
सुनाखरी उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर पाख्रिनले प्रदेश सरकारले अनुदानमा दिएको सेतो नम्बर प्लेटको सफारी गाडी सार्वजनिक बिदामा चलाउन नपाउँदा पर्यटक घुमाउन समस्या भएको गुनासो गर्नुभयो। “यो समस्या समाधानका लागि पटक–पटक मधेस प्रदेशको मन्त्रालयमा धाए पनि सुनुवाइ भएको छैन,” उहाँले भन्नुभयो। यस विषयमा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ।