एल क्लासिकोमा रोमाञ्चक जितसहित बार्सिलोना उपाधिको संघारमा
म्याड्रिड, २९ वैशाख । एल क्लासिकोमा आइतबार रियल म्याड्रिडलाइ ४–३ ले हराएर बार्सिलोनाले स्पेनी लिग उपाधितर्फ ठूलो पाइला चालेको छ । यस नतिजासँगै बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई सात अङकले पछाडि पार्यो । स्पेनी लिगमा तीन चरण मात्र बाँकी छ । बार्सिलोनालाई अब आफ्नो २८ औँ लिग उपाधि जित्नबाट मात्र दुई अङकको आवश्यकता छ ।
रियल म्याड्रिडले किलियन एमबापेको ह्याट्रिक हुँदाहुँदै पनि जित हासिल गर्न सकेन । राफिनाले दुई तथा लामिने यमाल र इरिक गार्सियाले एक–एक गोल गरी एमबापेको ह्याट्रिक छायाँमा पारे ।
एमबापेले पाँचौँ र १४ औँ मिनेटमा गोल गरेपछि रियल म्याड्रिडले २–० को अग्रता बनाएको थयो । तर बार्सिलोनाले खेल आधा घन्टा पुग्दा नै खेल बराबरीको स्थितिमा ल्याइसकेको थियो । मध्यान्तर हुँदा बार्सिलोना ४–२ ले अगाडी भइसकेको थियो । खेलको ७० औँ मिनेटमा एमबापेले आफ्नो तेस्रो गोल गरी ह्याट्रिक पनि पूरा गरे तर रियल म्याड्रिडले पुनरागमन गर्न सकेन ।
एमबापेले ह्याट्रिक गरी चालू स्पेनी लिगका सर्वाधिक गोकलर्ता बन्न सफल भए । उहाँले २७ गोल गरिसकेका छन् । एमबापेले बार्सिलोनाका रोवर्ट लेवान्डोस्कीलाई दुई गोलले पछाडि पारेका हुन् । एमबापे रियल म्याड्रिका लागि आफ्नो पदार्पण सत्रमै ३९ गोल गरेर कीर्तिमान बनाएका थिए ।