सगरमाथा संवादको तयारी अन्तिम चरणमा, जेठ २ देखि काठमाडौंमा

काठमाडौँ । नेपाल सरकारले पहिलोपटक आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ को तयारी अन्तिम चरणमा पुगेको छ। ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ विषयक उक्त संवाद आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ।

सरकारले प्रत्येक दुई वर्षमा यो संवाद आयोजना गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष पुस ८ गते सगरमाथा संवादको घोषणा गर्नुभएको थियो। संवाद आयोजनाका लागि प्रधानमन्त्री ओलीको संयोजकत्वमा उच्चस्तरीय निर्देशक समिति तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार संवादमा करिब ४० देशका १५० भन्दा बढी विदेशी पाहुनाको सहभागिता रहनेछ। प्रचारप्रसार समितिका संयोजक एवं परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर पौडेल क्षेत्रीले राष्ट्र/सरकार प्रमुखहरू, मन्त्रीहरू, विज्ञहरू लगायतलाई समसामयिक विश्वका जल्दाबल्दा मुद्दाहरूमा छलफल गर्न मञ्च उपलब्ध गराउनु संवादको उद्देश्य रहेको बताउनुभयो।

काठमाडौँको होटल सोल्टीमा हुने संवादमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी करिब चार सय विशिष्ट व्यक्तित्व सहभागी हुनेछन्। संवादमा उच्चस्तरीय उद्घाटन सत्र, प्लेनरी छलफल, १२ वटा समानान्तर सत्र र साइड इभेन्टहरू आयोजना हुनेछन्। कार्यक्रमको अन्त्यमा काठमाडौँ घोषणापत्र जारी गरिनेछ।

यो संवादले नेपालले संरक्षणमा गरेका असल अभ्यास विश्वलाई जानकारी गराउनुका साथै जलवायु सङ्कट समाधानका विश्वव्यापी प्रयासमा योगदान पुग्ने अपेक्षा गरिएको छ। सरकारले संवादबाट निस्किने निचोडलाई नीति निर्माणमा समेट्ने जनाएको छ।