त्रिविकाे परीक्षा केन्द्र पूर्ववत कायम गराउन स्ववियुकाे माग
सिन्धुपाल्चोक, ४ जेठ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित स्नातक तह चौथो वर्षको वार्षिक परीक्षाका लागि सिन्धुपाल्चोक जिल्लाभरका सम्पूर्ण क्याम्पसहरूको परीक्षा केन्द्र पूर्ववत कायम गराउन स्वतन्त्र विद्यार्थी युनियनले माग गरेको छ ।
सुनकोशी क्याम्पस लामोसाँघुका स्ववियु सभापित कृष्ण न्यौपानेले आइतबार एक विज्ञप्ती जारी गर्दै परीक्षा केन्द्रहरु यथावत कायम गर्न विश्वविद्यालयलाई ध्यानाकर्षण गराएका छन् । विश्वविद्यालयले जिल्लाभरका क्याम्पसका परीक्षा केन्द्र चौतारा बहुमुखी क्याम्पसमा मात्र तोकिदिएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘उक्त निर्णय भूगोल, मौसम, यातायात र विद्यार्थीको पहुँचको दृष्टिकोणले अव्यवहारिक देखिन्छ । विशेषगरी वर्षायाममा विकट भूगोलबाट आउनुपर्ने विद्यार्थीहरूलाई आवतजावत, बास तथा आर्थिक भारका कारण परीक्षा दिन कठिन भएको छ । यसले उनीहरूको मानसिक स्वास्थ्य र अध्ययनमा प्रतिकूल असर पुर्याउने जोखिम छ । यस अवस्थालाई गम्भीरतापूर्वक पुनरावलोकन गरी विगतका वर्षहरूमा जस्तै भूगोल अनुकूल, पहुँचमैत्री र विद्यार्थीमैत्री परीक्षा केन्द्र व्यवस्था गर्न हाम्रो जोडदार माग छ ।’
‘विद्यार्थीको हक, हित र समानताको पक्षमा त्रिभुवन विश्वविद्यालयले शीघ्र आवश्यक निर्णय लिने विश्वास व्यक्त गर्दछौँ’, विज्ञप्तीमा भनिएको छ, ‘वर्षातको कारणले बाटोहरू अस्तव्यस्त रहेका छन्, यस्तो अवस्थामा यात्रा गरेर परीक्षामा सहभागी हुन जाने क्रममा सम्भावित हुनसक्ने कठिनाइहरूको सम्पूर्ण समस्याहरु प्रति सहज रहनुपर्छ ।’