एक महिनामा आगलागीबाट ११ जनाको मृत्यु, ६७ घाइते, कुन प्रदेशमा कति भयाे आगलागीका घटना ?
काठमाडौँ, १३ जेठ । देशभर पछिल्लो एक महिनाको अवधिमा आगलागीका घटनाबाट ११ जनाको ज्यान गएको छ भने ६७ जना घाइते भएका छन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाका अनुसार वैशाख महिनाको तथ्याङ्कअनुसार मृत्यु हुनेमा तीन पुरुष, पाँच महिला, दुई बालक र एक बालिका रहेका छन् । सोही अवधिमा आगलागीबाट २७ पुरुष, ३२ महिला र आठ बालबालिका गरी ६७ जना घाइते भएका हुन् ।
प्रवक्ता थापाले आगलागीका घटनामा वृद्धिसँगै ठूलो भौतिक तथा मानवीय क्षति भइरहेको बताउँदै नागरिक सचेतना अपनाए धेरै घटना न्यूनीकरण गर्न सकिने उल्लेख गरे । प्रहरीका अनुसार एक महिनामा आगलागीबाट १५१ घर, १०१ गोठ र तीन सरकारी कार्यालयमा क्षति पुगेको छ । साथै, आगलागीमा परी १८९ पशुचौपाया मरेका छन् । यी घटनाबाट रु. २४ करोड १९ लाख ५९ हजारभन्दा बढीको आर्थिक नोक्सानी भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
आगलागीका कारण ११० परिवार विस्थापित भएका छन् । एक महिनाको अवधिमा देशभर कुल ६३४ वटा आगलागीका घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
कुन प्रदेशमा कति आगलागीका घटना ?
प्रहरीका अनुसार वैशाख महिनामा सबैभन्दा बढी आगलागीका घटना लुम्बिनी प्रदेशमा भएका छन्, जहाँ १४३ वटा घटना दर्ता भएका छन् । त्यसपछि कोशी प्रदेशमा १३६, मधेश प्रदेशमा १०४, बागमतीमा ६४, काठमाडौँ उपत्यकामा ३२, गण्डकी प्रदेशमा ५३, कर्णाली प्रदेशमा ४३ र सुदूरपश्चिम प्रदेशमा ५९ वटा आगलागीका घटना भएका छन् ।
आगलागीसम्बन्धी विज्ञहरूले अधिकांश आगलागीका घटना मानवीय कारणले हुने गरेको बताउँदै आएका छन् ।