हेरिटेज रेसमा सन्तोषी र जुलियस विजेता

काठमाडौँ, २४ जेठ । नेपालकी सन्तोषी श्रेष्ठ र केन्याका जुलियस म्युरुकीले शनिबार नेपाल हेरिटेज २५ किलोमिटर रेसको उपाधि जितेका छन् ।

विश्व रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)को बोर्ड बैठक नेपालमा आयोजना भएको सन्दर्भ पारेर हेरिटेज रन गरिएको हो । विश्व सम्पदा सूचीमा परेका सम्पदाहरु जोड्नेगरी २५ किमी दुरीको दौडको रुट तयार गरिएको थियो । नेपालमा पहिलो पटक भएको हेरिटेज रन त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भई सुन्धारा, न्युरोड, काठमाडौं दरबार स्क्वायर, रानीपोखरी, दरबारमार्ग, कमलपोखरी, गौशाला, पशुपतिनाथ, तीनकुने, ग्वार्को, पाटन दरबार स्क्वायर, पुलचोक, थापाथलीहुँदै दशरथ रंगशाला पुगेर सकिएको थियो ।

सन्तोषीले एक घन्टा ३१ मिनेट ४३ सकेन्डमा पूरा गरिन् । महिला दौडमा आर्मीकी नीशा साकी दोस्रो र एपिएफकी पुष्पा भण्डारी तेस्रो भए । पुरुष दौडमा जुलियसले एक घन्टा १६ मिनेट ४८ सकेन्ड समय लगाए । त्रिभुवन आर्मी क्लबका विनोद रोकाया दोस्रो र सुशील केसी तेस्रो स्थानमा रहे । महिला र पुरुष दुवैतर्फ विजेताले एक लाख, दोस्रोले ५० हजार र तेस्रो २५ हजार रुपियाँ पुरस्कार प्रदान गरिएको थियो ।

गल्र्स यु१८तर्फ अस्मिता भुजेल, ब्वाइजमा अजय पाण्डेय क्षेत्री, भेट्रान्स महिला ५ किमीमा शर्मिला बस्नेत थापा मगर तथा भेट्रान्स पुरुष ५ किमी दौडमा धर्म महर्जन प्रथम भएका थिए ।