विपक्षीको अवरोधकै बीच आज प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने
काठमाडौँ, २५ जेठ । प्रमुख प्रतिपक्षी दलसहितका दलहरूको निरन्तर अवरोधका कारण नियमित कार्यसूचीमा प्रवेश गर्न नसकिरहेको प्रतिनिधिसभाको बैठक आज पुनः बस्दैछ ।
सङ्घीय संसद् भवनमा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा महत्त्वपूर्ण कार्यसूचीहरू तय भएका छन् ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।
त्यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले लामो समयदेखि प्रतीक्षित ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ सदनमा पेस गर्नुहुनेछ ।
यद्यपि, ‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको आरोप लगाउँदै विपक्षी दलहरूले उनको राजीनामा माग गर्दै सदन अवरुद्ध गर्दै आएका छन् ।
विपक्षीको यही अडानका कारण पछिल्ला बैठकहरू कार्यसूचीमा प्रवेश नै नगरी स्थगित हुँदै आएकाले आजको बैठक सुचारु हुनेमा पनि आशङ्का छ ।