सुनको मूल्यमा निरन्तर वृद्धि, आज तोलाको १ लाख ९७ हजार ५०० रुपैयाँ
काठमाडौँ, १ असार । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ उचाइ छोएको छ। गत सातादेखि निरन्तर उकालो लागेको सुनको भाउमा आज थप वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको छ। हिजो शुक्रबार सुन प्रतितोला १ लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यद्यपि, चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला २,१६५ रुपैयाँमा कारोबार भइरहेको छ।
एक सातामै ७,५०० रुपैयाँले बढ्यो सुन
गत जेठ २७ गतेदेखि सुरु भएको सुनको मूल्य वृद्धिको यो सिलसिला आज पनि जारी रहेको हो। जेठ २७ गते प्रतितोला १ लाख ९० हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा यो अवधिमा ७,५०० रुपैयाँको बढोत्तरी भइसकेको छ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा निरन्तर देखिएको वृद्धिको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको जनाएको छ। विश्व बजारमा सुनको भाउमा आउने उतारचढावले नै यहाँको मूल्य निर्धारणमा मुख्य भूमिका खेल्ने गर्दछ।