तुइन खोलामा सुक्खा पहिरोले नारायणघाट–मुग्लिन सडक अवरुद्ध

चितवन, ३ असार । नारायणघाट-मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलामा सुक्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। मंगलबार दिउँसो करिब १२ बजे इच्छाकामना गाउँपालिकामा पर्ने उक्त स्थानमा पहिरो खसेको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका अनुसार तुइन खोलामा नयाँ पुल निर्माणका लागि काटिएको भिरबाट पहिरो खसेर सडक दुईतर्फी रूपमा बन्द भएको हो।

पहिरोका कारण राजमार्गमा सवारी साधनको लामो लाइन लागेको छ भने सयौँ यात्रु अलपत्र परेका छन्।

ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक गायत्री शर्माले पहिरो पन्छाएर सडक खुलाउने प्रयास तुरुन्तै सुरु गरिएको जानकारी दिनुभयो।

सडक डिभिजन कार्यालय, भरतपुरले डोजर प्रयोग गरी पहिरो हटाउने काम जारी रहेको र थप पहिरो नखसेको अवस्थामा दुईदेखि तीन घण्टाभित्र सडक पुनः सञ्चालनमा ल्याइने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *