कैलाली कारागारका कैदीको शंकास्पद मृत्यु, हत्याको आशंकामा परिवारले शव बुझेन
धनगढी, ४ असार । कैलाली कारागारमा एक कैदीको शंकास्पद अवस्थामा मृत्यु भएको छ । बैंकिङ कसुरमा सजाय काटिरहेका डडेल्धुराका २८ वर्षीय हरीश पालीको सोमबार राति मृत्यु भएको हो ।
कारागार प्रशासनका अनुसार, सोमबार राति करिब साढे १० बजे पालीलाई बेहोस अवस्थामा फेला पारिएको थियो । तत्कालै सेती प्रादेशिक अस्पताल लगिए पनि उपचारको क्रममा उनको मृत्यु भयो । अस्पताल पुर्याउँदा उनलाई अत्यधिक ज्वरो आएको र रक्तचाप निकै कम भएको जेलर पदम तिमिल्सिनाले बताए ।
यद्यपि, मृतकको मुख, खुट्टा र शरीरका अन्य भागमा चोटपटक देखिएपछि परिवारले कारागारभित्रै कुटपिट गरी हत्या गरिएको आरोप लगाएको छ । यही कारण उनीहरूले दुई दिन बितिसक्दा पनि शव बुझ्न अस्वीकार गरेका छन् ।
पालीलाई जिल्ला अदालतले २०८० सालमा १० दिन कैद र दुई लाख जरिवाना सुनाएको थियो । फरार रहेका उनलाई प्रहरीले असार १ गते पक्राउ गरी कारागार चलान गरेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको कारागार प्रशासनले जनाएको छ ।