झापामा साथीहरूको कुटपिटबाट दुई किशोरको मृत्यु, ट्युसनबाट फर्किँदै गर्दा भएको थियो आक्रमण
झापा, १९ असार । झापाको शिवसताक्षी नगरपालिकामा साथीहरूबाटै भएको कुटपिटका कारण दुई किशोरले ज्यान गुमाएका छन् ।
ट्युसन पढेर घर फर्किने क्रममा भएको आक्रमणबाट शिवसताक्षी, संगम चोकका १५ वर्षीय आदित्य तामाङ र उनका साथी रोमन थापाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, रोमन थापाको गत आइतबार बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा मृत्यु भएको थियो । सोही घटनामा घाइते भएका आदित्यको पनि बुधबार दिउँसो बी एन्ड सी अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । प्रहरीका निमित्त प्रवक्ता एवं इन्स्पेक्टर प्रवीण श्रेष्ठले दुवै किशोरको एउटै समूहको कुटपिटबाट मृत्यु भएको पुष्टि गर्नुभयो ।
प्रहरी अनुसन्धानअनुसार, केही दिनअघि ट्युसन पढेर घर फर्किँदै गर्दा आदित्य र रोमनमाथि ध्रुवतारा अंग्रेजी माध्यमिक विद्यालयका केही विद्यार्थीले आक्रमण गरेका थिए । प्रत्यक्षदर्शीका अनुसार, आक्रमणकारी समूहले सुरुमा सामान्य कुटपिट गरी उनीहरूलाई पठाएको थियो, तर केही पर पुगेपछि पुनः बोलाएर निर्मम ढंगले कुटपिट गरेको थियो ।
कुटपिटपछि आदित्यले घरमा घटनाबारे जानकारी गराएका थिएनन् । भोलिपल्ट अनुहार सुन्निएको र ढाड दुखेको अवस्थामा पनि उनी विद्यालय गएका थिए । तर, स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि मात्रै उनलाई गत शुक्रबार अस्पताल भर्ना गरियो । पाँच दिनको उपचारपछि पनि उनको स्वास्थ्यमा सुधार आउन सकेन र अन्ततः उनको मृत्यु भयो ।
प्रहरीले आदित्य र रोमन घनिष्ठ मित्र रहेको र उनीहरूलाई एउटै समूहले आक्रमण गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।