भोटेकोशी बाढी : हाइड्रोपावरको क्याम्प बगाएपछि कर्मचारीहरू जङ्गलमा भागेर जाेगाए ज्यान, हेलिकप्टरबाट उद्धारको तयारी

काठमाडौं, २४ असार । भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवागढी जलविद्युत् आयोजनामा ठूलो भौतिक क्षति पुर्‍याएको छ। बाढीले आयोजनाको बाँध (ड्याम) र कर्मचारी बस्ने क्याम्प बगाएपछि त्यहाँ कार्यरत दर्जनौं कर्मचारीहरू भागेर नजिकैको जङ्गलमा शरण लिन बाध्य भएका छन्। उनीहरूको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी भइरहेको छ।

आयोजनाका प्रशासन प्रमुख टिकानाथ पौडेलका अनुसार, बाढीले आयोजनाको ड्याम, क्याम्प र सवारीसाधनहरू बगाएर ठूलो क्षति पुर्‍याएको छ। उहाँले भन्नुभयो, “हाम्रा गाडीहरू पनि बगेका छन्। साथीहरू ‘अडिट टु’ नामक जङ्गल क्षेत्रमा गएर बसिरहनुभएको छ।”

पौडेलका अनुसार उक्त स्थानमा दुई महिलासहित करिब २५ देखि ३० जना कर्मचारी रहेका छन्। अलपत्र परेका सबैलाई सुरक्षित रूपमा उद्धार गर्न हेलिकप्टरको व्यवस्था गरिँदैछ।

यद्यपि, बाढीका बीच पनि आयोजनाको मुख्य संरचना मानिने विद्युत् उत्पादन गृह भने सुरक्षित रहेको प्रमुख पौडेलले जानकारी दिनुभयो।