महिनावारी हुँदा गोठमा सुतेकी महिलाको सर्पले टाेकेर मृत्यु

कञ्चनपुर, २९ असार। कञ्चनपुरमा छाउपडीजस्तो अमानवीय कुप्रथाले एक महिलाको ज्यान लिएको छ। महिनावारी भएको समयमा घरबाहिर गोठमा सुत्न बाध्य कृष्णपुर नगरपालिका–१, निगालीकी २८ वर्षीया कमला दमाई (आउजी) को सर्पदंशबाट दुःखद् मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार, शुक्रबार राति आँगनमा रहेको गोठमा सुतिरहेको बेला कमलाको बायाँ गालामा सर्पले डसेको थियो। तत्कालै उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुऱ्याइए पनि उपचारकै क्रममा शनिबार उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो।

पक्की घर भएर पनि महिनावारी हुँदा कमलालाई गोठमा सुत्न बाध्य पारिएको स्थानीयले बताएका छन्। मृतक कमलाका तीन स-साना बालबालिका छन् भने उनका श्रीमान् रोजगारीका लागि भारतमा छन्। उनी आफैँ पनि दुई महिनाअघि मात्र भारतबाट घर फर्किएकी थिइन्।

यस घटनाले आफू स्तब्ध भएको बताउँदै कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझाले छाउपडी प्रथा उन्मुलनका लागि निरन्तर प्रयास गर्दागर्दै यस्तो दुःखद् घटना भएकोमा मर्माहत भएको बताउनुभयो। “छाउपडी कानुनले बर्जित गरे पनि अशिक्षा र अन्धविश्वासका कारण यो प्रथा कायमै छ,” उहाँले भन्नुभयो, “आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सचेतना फैलाउने र छाउगोठ भत्काउने अभियानलाई प्राथमिकतामा राखेका छौँ।”

दलित अगुवा राजुराम सार्कीले महिनावारी जस्तो प्राकृतिक प्रक्रियालाई घृणा गर्ने सामाजिक सोच नबदलिएसम्म यस्ता घटना दोहोरिरहने बताउनुभयो। उहाँले यो गम्भीर मानवताविरोधी अपराध भएको टिप्पणी गर्नुभयो।

मुलुकी अपराध संहिता, २०७४ अनुसार महिलालाई रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्नु दण्डनीय अपराध हो। यस्तो कार्य गर्नेलाई तीन महिनासम्म कैद र तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ। तर, कानुन बने पनि व्यवहारमा कार्यान्वयन फितलो हुँदा निर्दोष महिलाहरूले अकालमा ज्यान गुमाइरहेका छन्।