मुक्तक गायनमा नयाँ इतिहास, सन्तोष श्रेष्ठको एकल स्वरमा गुञ्जियो मुक्तक !
काठमाडौं, ४ साउन । नेपाली साहित्यको इतिहासमा पहिलो पटक मुक्तकलाई एकल गायनमार्फत प्रस्तुत गरिएको छ।
दियालो साहित्य सरगमको आयोजनामा “वाह! यस्तो पो मुक्तक !” शीर्षकमा सम्पन्न कार्यक्रममा विश्वकीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठले एकल सङ्गीत र स्वरमा मुक्तकहरू गाएर ऐतिहासिक थालनी गर्नुभएको हो।
कार्यक्रममा श्रेष्ठले तीन जना प्रतिष्ठित मुक्तककारहरू— शान्ति शर्मा, शिवराम खड्का र गणेशप्रसाद खतिवडाका तीन-तीन वटा मुक्तकलाई सुमधुर सङ्गीतमा ढालेर प्रस्तुत गर्नुभएको थियो। उहाँले मुक्तक गाइरहँदा उपस्थित दर्शक-श्रोताहरू भावविभोर बनेका थिए र कार्यक्रम हल “वाह! वाह!” को ध्वनिले गुञ्जिएको थियो। श्रेष्ठलाई तबलामा रमेश डङ्गोल र बाँसुरीमा डम्बर खड्काथोकीले सङ्गीतमा साथ दिनुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डा. देवी नेपालले दियालो साहित्य सरगमले सधैँ नयाँ र मौलिक काम गर्दै आएको उल्लेख गर्दै मुक्तक गायनको सुरुवात गरेर नेपाली साहित्यमा ऐतिहासिक कीर्तिमान कायम गरेको बताउनुभयो। उहाँले भन्नुभयो, “आज दियालोले नेपालको इतिहासमै पहिलोपटक मुक्तकलाई गायनमा प्रस्तुत गरेर नयाँ इतिहास रचेको छ र सन्तोष श्रेष्ठले त्यो इतिहास कायम गर्नुभएको छ।”
कार्यक्रममा रत्नविरही घिमिरे, सविता बराल, सृजना सरोवर र राधा कणेलले मुक्तक वाचन गर्नुभएको थियो भने सहप्राध्यापक कोषराज न्यौपानेले आफ्नै मुक्तक वाचन गरेर कार्यक्रम उद्घाटन गर्नुभएको थियो। दियालो साहित्य सरगमकी अध्यक्ष शान्ति शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सचिव गणेशप्रसाद खतिवडाले सहजीकरण गर्नुभएको थियो।