अस्ताए हेभी मेटलका गडफादर, ‘प्रिन्स अफ डार्कनेस’ ओजी ओस्बोर्न

 

लन्डन, एजेन्सी। विश्वविख्यात हेभी मेटल सांगीतिक समूह ब्ल्याक सब्बाथका प्रमुख गायक तथा रियालिटी टिभी स्टार ओजी ओस्बोर्नको ७६ वर्षको उमेरमा निधन भएको छ। उनलाई हेभी मेटल संगीतको गडफादर र ‘प्रिन्स अफ डार्कनेस’ उपनामले पनि चिनिन्थ्यो।

परिवारको बीचमा बर्मिघमस्थित निवासमा मंगलवार उनको निधन भएको एजेन्सीले जनाएको छ। ब्ल्याक सब्बाथसँगको भव्य पुनर्मिलन कन्सर्ट लगत्तै उनको निधन भएको हो।

केही हप्ताअघि मात्र ओस्बोर्नले बर्मिघममा ‘ब्याक टु बिगिनिङ’ नामक कन्सर्टमा प्रस्तुति दिएका थिए। झन्डै दुई दशकपछि ब्यान्डका मूल सदस्यहरूलाई पुनः एउटै मञ्चमा ल्याएको उक्त कन्सर्टलाई ओस्बोर्नको अन्तिम सांगीतिक विदाईका रूपमा प्रचार गरिएको थियो।

जोहन माइकल ओस्बोर्नको वास्तविक नाम बोकेका उनी सन् १९४८ मा इंग्ल्यान्डको बर्मिघममा जन्मिएका थिए। उनले सन् १९६९ मा ब्ल्याक सब्बाथ स्थापना गरेका थिए, जुन ब्यान्डले आधुनिक हेभी मेटलको जग बसाल्यो। ‘आइरनम्यान’, ‘वार पिग्स’, ‘ब्ल्याक सब्बाथ’ जस्ता गीत उनका चर्चित गीत हुन्। उनले संगीतमा अन्धकार, युद्ध र विद्रोहका विषयवस्तुलाई उठाई नयाँ युगको सुरुवात गरेका थिए।

लागू औषधको दुव्र्यसन तथा अत्यधिक मादक पदार्थ सेवन गर्ने बानीका कारण सन् १९७९ मा उनलाई ब्यान्डबाट निस्कासन गरिएको थियो। ब्यान्डबाट निकालिएपछि उनको करिअर सकियो भन्ने अनुमान गरिए पनि उनले संकटपूर्ण अवस्थामा आफूलाई सम्हाल्दै एकल करिअर सुरु गरेका थिए।

सन् १९८० मा आएको एल्बम ‘ब्लिजर्ड अफ ओज’ मार्फत पुनः संगीत क्षेत्रमा कब्जा जमाएका उनको एकल करिअरमा पनि विश्वभर १० करोडभन्दा बढी एल्बम बिक्री भयो। ‘मामा आई एम कमिङ होम’, ‘नो मोर टिएरर्स’, ‘बार्क एट द मुन’ लगायतका गीत उनको करिअरका चर्चित गीत हुन्। उनको ‘क्रेजी ट्रेन’ अहिले पनि सर्वकालीन चर्चित रक गीतमध्ये एक मानिन्छ।

उनको अनौठो, रहस्यमय र कहिलेकाहीँ डरलाग्दो प्रस्तुति शैलीमार्फत उनले ‘प्रिन्स अफ डार्कनेस’ को उपाधि पाएका थिए। सन् १९८२ मा कन्सर्टको दौरान एक जीवित चमेरोको टाउको टोकेको घटनाले उनी अझ चर्चामा आएका थिए। यो घटनाले उनको डार्क छविलाई अझ गहिरो बनाएको थियो।

‘म शैतान होइन, म केवल रक एन्ड रोल गायक हुँ’ उनले एक पटक भनेका थिए। उनका गीतहरूमा मृत्यु, नर्क, अन्धकार, आत्मा, कहिलेकाहीँ पागलपन र विद्रोहजस्ता विषय प्रमुख हुने गर्दथे। उनले कहिले ब्ल्याक सब्बाथ ब्यान्डका प्रमुख गायकका रूपमा त कहिले एकल कलाकारका रूपमा आधा शताब्दीभन्दा बढी समयसम्म संगीतमा राज गरेका थिए। मेटालिका, स्लिपनटदेखि पोस्ट मेलोनसम्मका कलाकारहरूले उनलाई प्रेरणाका रूपमा लिने गर्छन्।