४८ टोली सम्मिलित विश्वकप फुटबल सुरु, विवाद र चुनौतीबीच मेक्सिको र दक्षिण अफ्रिका भिड्दै

काठमाडाैं, २८ जेठ । अत्यधिक टिकट मूल्य, भिसा विवाद र राजनीतिक संवेदनशीलताका बीच विश्वकप फुटबल प्रतियोगिताको औपचारिक सुरुआत भएको छ। मेक्सिको सिटीको ऐतिहासिक ‘एस्टाडियो एजटेका’ रङ्गशालामा आयोजक मेक्सिको र दक्षिण अफ्रिकाबीचको उद्घाटन खेलसँगै ४८ टोली सहभागी विश्वकपको पहिलो खेल सुरु भएको हो।

संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडाको संयुक्त आयोजनामा सुरु भएको यो ऐतिहासिक प्रतियोगिता करिब छ सातासम्म चल्नेछ। विश्वकपको फाइनल खेल आगामी जुलाई १९ मा न्युजर्सीमा हुने तय भएको छ।

फिफाका अनुसार यस विश्वकपबाट करिब १३ अर्ब अमेरिकी डलर बराबरको राजस्व संकलन हुने अनुमान छ। यद्यपि, प्रतियोगिता सुरु हुनुअघि नै महँगो टिकट मूल्य र अमेरिकाको कडा अध्यागमन नीतिका कारण खेलाडी, रेफ्री तथा समर्थकहरूले भिसा पाउन नसकेको भन्दै तीव्र आलोचना भइरहेको छ। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले भने टिकट दर ६० डलरदेखि ३० हजार डलरसम्म रहेको र औसत मूल्य ५०० डलरभन्दा कम भएकाले यो अमेरिकी खेलकुदको तुलनामा सुलभ रहेको दाबी गर्नुभएको छ।

भिसा विवादबारे बोल्दै फिफा प्रमुख इन्फान्टिनोले सोमाली रेफ्री ओमार आर्टनको घटनालाई ‘दुर्भाग्यपूर्ण’ भन्नुभएको छ। सुरक्षा चिन्ता र ‘आतङ्कवादी सङ्गठनसँग आबद्ध व्यक्तिहरूसँग सम्पर्क रहेको’ अमेरिकी आरोपका कारण आर्टनलाई अमेरिका प्रवेश अनुमति नदिएपछि उहाँ विश्वकपमा सहभागी हुन पाउनुभएन। भिसा तथा सुरक्षासम्बन्धी नीतिहरू फिफाको नियन्त्रणमा मात्र नरहने अध्यक्ष इन्फान्टिनोले स्पष्ट पार्नुभयो।

खेल मैदानतर्फ भने ८५ हजार दर्शक क्षमताको एस्टाडियो एजटेकामा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकाको सामना गर्दैछ। मेक्सिकोका प्रशिक्षक जेभियर एगुइरेले यसपटक उद्घाटन खेलमा जित निकाल्दै पुराना नकारात्मक तथ्याङ्क तोड्ने लक्ष्य राखेको बताउनुभयो। दक्षिण अफ्रिकाका प्रशिक्षक ह्युगो ब्रुसले भने आफ्ना खेलाडीहरूलाई घरेलु दर्शकको अत्यधिक दबाब झेल्दै खेलमा ध्यान केन्द्रित गर्न निर्देशन दिनुभएको छ। उद्घाटन दिनकै दोस्रो खेल गुआडालाजारामा दक्षिण कोरिया र चेक गणतन्त्रबीच हुँदैछ।

यसपटक स्पेन, फ्रान्स र इङ्गल्याण्डलाई उपाधिका प्रमुख दाबेदारका रूपमा हेरिएको छ भने वर्तमान विजेता अर्जेन्टिना आफ्ना स्टार कप्तान लियोनेल मेस्सीको नेतृत्वमा उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदान उत्रिने तयारीमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *