सिराहामा परीक्षा हलमा जफत गरिएका मोबाइल नष्ट नगर्न गृह मन्त्रालयका नाममा सर्वोच्चको अन्तरिम आदेश
काठमाडौँ, २८ जेठ । सिराहामा एसईई र कक्षा १२ को परीक्षाका क्रममा जफत गरिएका मोबाइल र स्मार्ट वाच कानुन विपरीत नष्ट गरिएको घटनालाई लिएर सर्वोच्चले अन्तरिम आदेश जारी गरेकाे छ ।
परीक्षा हलभित्र विद्यार्थीबाट जफत गरिएका मोबाइल फोन तथा अन्य विद्युतीय उपकरणहरू नष्ट नगर्न सर्वोच्च अदालतले गृह मन्त्रालयका नाममा अन्तरिम आदेश दिएको हो।
न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले परीक्षा हलभित्र भेटिएका मोबाइल र त्यसमा रहेका व्यक्तिगत डेटा (विवरण) जफत गरी नष्ट गर्ने कार्य नगर्नू र नगराउनू भनी विपक्षी गृह मन्त्रालयका नाममा अन्तरिम आदेश जारी गरेको छ। अधिवक्ता अनिलकुमार साहसहितका कानुन व्यवसायीहरूले गैरकानुनी रूपमा विद्यार्थीको सम्पत्ति नष्ट गरिएको भन्दै दायर गरेको रिटमा सुनुवाइ गर्दै अदालतले विपक्षीका नाममा लिखित जवाफ पेस गर्नसमेत आदेश दिएको छ।
गएको चैत महिनामा सम्पन्न एसईई परीक्षाका क्रममा सिराहाका विभिन्न परीक्षा केन्द्रहरूबाट आइफोन, एन्ड्रोइड मोबाइल र स्मार्ट वाचसहित पाँच सयभन्दा बढी थान उपकरणहरू जफत गरिएको थियो। जिल्ला परीक्षा समन्वय समिति सिराहाको निर्णय र मधेश प्रदेशका शिक्षामन्त्रीको घोषणापछि प्रहरीले ती मोबाइलहरू पानी भरिएको ड्रममा डुबाएर सामूहिक रूपमा नष्ट गरेको थियो। सो कार्यको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएको थियो।
रिट निवेदकहरूले परीक्षा सकिएपछि तोकिएको जरिवाना लिएर वा अभिभावकको रोहबरमा मोबाइल सुरक्षित फिर्ता गर्नुपर्ने स्थापित नियम उल्लंघन गरी स्वेच्छाचारी ढङ्गले निजी सम्पत्ति नष्ट गरिएको दाबी गरेका छन्। जफत गरिएका उपकरणहरूको बजार मूल्य र तिनमा रहेका व्यक्तिगत डेटाको क्षतिका आधारमा पीडित विद्यार्थी र अभिभावकलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनसमेत रिटमा माग गरिएको छ।