स्वास्थ्य बिमा कार्यक्रम कटौतीको राप्रपाद्वारा विरोध: “एकपटक सरकारी अस्पतालमा लाइन लागेर उपचार गर्नुस्”
काठमाडौँ, २८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत निजी अस्पतालहरूबाट सेवा हटाइएकोमा विरोध जनाउँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उहाँको परिवारलाई एकपटक सरकारी अस्पतालमा लाइन लागेर उपचार गराउन आग्रह गर्नुभएको छ। बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद शाहीले सरकारको यस निर्णयले गरिब नागरिकहरू स्वास्थ्य उपचारबाट वञ्चित हुने बताउनुभयो।
“म अर्थमन्त्रीज्यू र उहाँको परिवारलाई एउटा आग्रह गर्न चाहन्छु, एकपटक सरकारी अस्पतालको लाइनमा बसेर उपचार गराएर हेरिदिनुस्,” संसद्मा बोल्दै शाहीले भन्नुभयो, “त्यसपछि मात्र थाहा हुनेछ कि हाम्रा सरकारी अस्पतालहरूले सर्वसाधारणको सम्पूर्ण भार धान्न सक्छन् कि सक्दैनन्।” सरकारी अस्पतालको क्षमता वृद्धि, पर्याप्त चिकित्सक र आवश्यक उपकरणको व्यवस्था नगरी स्वास्थ्य बिमाको पहुँच कटौती गर्नु भनेको गरिबलाई रोग सहेर बस्न बाध्य पार्नु र राज्य आफ्नो दायित्वबाट पन्छिनु जस्तै भएको उहाँको तर्क थियो।
केही निजी अस्पतालले बिमा कार्यक्रममा घोटाला गरेको भन्दै सरकारले समग्र सेवा नै बन्द गराएको विषयप्रति उहाँले कडा आपत्ति जनाउनुभयो। “यदि केही निजी अस्पतालले घोटाला गरेका थिए भने समाधान बिमा कटौती होइन, बलियो नियमन, नियमित अनुगमन र दोषीलाई कारबाही गर्ने शक्तिशाली नियामक निकाय गठन गर्ने हो,” उहाँले प्रश्न गर्नुभयो, “हातमा चोट लाग्यो भन्दैमा उपचार गर्ने हो कि हातै काटेर फाल्ने हो?”