२,५०० वर्ष पुरानो ‘आइस मम्मी’को शरीरमा भेटिए जटिल ट्याटु, आधुनिक कलाकारलाई पनि चुनौती

 

काठमाडौँ, १६ साउन । अनुसन्धानकर्ताहरूले २५०० वर्ष पुरानो साइबेरियाली ‘आइस मम्मी’ (बरफमा संरक्षित शव) को शरीरमा खोपिएका ट्याटुहरूको उच्च-रिजोल्युसन इमेजिङमार्फत अध्ययन गरेका छन्। अध्ययनले यस्ता कलात्मक र जटिल चित्रहरू उजागर गरेको छ, जुन बनाउन आधुनिक ट्याटु कलाकारहरूलाई पनि चुनौतीपूर्ण हुनेछ।

ती महिलाको शरीरमा चितुवा, मृग, भाले र पौराणिक ग्रिफिन (आधा सिंह र आधा चीलको शरीर भएको जीव) जस्ता विस्तृत चित्रहरू भेटिएका छन्। यसले प्राचीन योद्धा संस्कृतिको बारेमा महत्वपूर्ण जानकारी दिएको छ।

लगभग ५० वर्षकी यी महिला चीन र युरोप बीचको विशाल मैदानी घाँसे भूमिमा बसोबास गर्ने घुमन्ते पाजिरिक समुदायकी थिइन्, जो घोडा सवारीमा निपुण थिए।

स्क्यानले “जटिल, स्पष्ट र एकरूप” ट्याटुहरू देखाएको छ, जुन यसअघि नाङ्गो आँखाले स्पष्ट रूपमा देख्न सकिएको थिएन।

“यो अध्ययनले ती मानिसहरू कति परिष्कृत र विकसित थिए भन्ने कुरालाई उजागर गरेको छ,” प्रमुख अनुसन्धानकर्ता तथा म्याक्स प्ल्याङ्क इन्स्टिच्युट अफ जियोएन्थ्रोपोलोजी र बर्न विश्वविद्यालयका डा. गिनो क्यास्पारीले बीबीसी न्यूजलाई बताए।

१९ औं शताब्दीमा साइबेरियाको अल्ताई पर्वतमा बरफले बनेका चिहानहरूभित्र पाजिरिक ‘आइस मम्मी’हरू फेला परेका थिए, तर अहिलेसम्म उनीहरूको शरीरका ट्याटुहरू स्पष्ट देख्न कठिन थियो। अहिले रुसको सेन्ट पिटर्सबर्गस्थित हर्मिटेज सङ्ग्रहालयमा ‘नियर-इन्फ्रारेड डिजिटल फोटोग्राफी’ प्रविधिको प्रयोग गरी विज्ञहरूले पहिलो पटक यी चित्रहरूको उच्च-गुणस्तरको स्क्यान तयार पारेका छन्।

“यो प्रविधिले हामीलाई कला पछाडिका मानिसहरू, उनीहरूको काम गर्ने तरिका र कलात्मक ज्ञानको नजिक पुर्‍याएको महसुस गरायो। चित्रहरू जीवन्त भएर आए,” डा. क्यास्पारीले भने।

महिलाको दाहिने पाखुरामा मृगको टाउको वरिपरि चितुवाको चित्र छ भने देब्रे पाखुरामा पौराणिक ग्रिफिनले मृगसँग लडिरहेको देखिन्छ। “जनावरहरूको घुमाउरो शरीर र उनीहरूबीचको भीषण युद्धका दृश्यहरू पाजिरिक संस्कृतिका विशेषता हुन्,” डा. क्यास्पारीका अनुसार। तर, महिलाको बूढी औंलामा रहेको भालेको ट्याटुले भने ‘एक विशेष मौलिकता’ देखाउँछ।

अध्ययन टोलीले महिलाको छालामा रहेको निशानाहरूको विश्लेषण गरी ट्याटु खोप्नुअघि छालामा स्टेन्सिल (नमुना) बनाइएको हुनसक्ने विश्वास गरेको छ। उनीहरूका अनुसार, जनावरको सिङ वा हड्डीबाट बनेको धेरै टुप्पाहरू भएको सुईजस्तो औजार र एउटा टुप्पो भएको सुई प्रयोग गरिएको थियो। रङको लागि जलेको बोटबिरुवा वा धुवाँको कालो कण (सूट) प्रयोग गरिएको हुनसक्ने अनुमान छ।

शवलाई अन्तिम संस्कारका लागि तयार पार्दा केही ट्याटुहरू काटिएको वा बिग्रिएको देखिन्छ। “यसले के देखाउँछ भने ट्याटुहरू जीवनकालमा अर्थ राख्ने जीवित मानिसहरूका लागि थिए, तर मृत्युपछिको जीवनमा तिनको खासै भूमिका थिएन,” डा. क्यास्पारी बताउँछन्।

उनका अनुसार ट्याटु बनाउन लामो समय लागेको हुनुपर्छ। “अनुमान लगाउने हो भने, दाहिने पाखुराको तल्लो आधा भाग बनाउन साढे चार घण्टा र माथिल्लो भाग बनाउन अर्को पाँच घण्टा लागेको हुनुपर्छ,” उनले भने, “त्यो व्यक्तिको लागि ठूलो प्रतिबद्धता हो। सोच्नुहोस् त, खुला मैदानमा निरन्तर हावा चलिरहेको ठाउँमा त्यति लामो समय बसिरहनु कति कठिन थियो होला।”

दुई पाखुराका ट्याटुको गुणस्तरमा भिन्नता देखिएकाले फरक-फरक व्यक्तिले बनाएको वा बनाउने क्रममा गल्ती भएको हुनसक्ने पनि अनुसन्धानले देखाएको छ। यो खोज ‘एन्टिक्विटी’ जर्नलमा प्रकाशित भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *